स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोग शक्तिशाली छ : परराष्ट्रमन्त्री साउद

लोकपथ
28
Shares

काठमाडौं । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा कानुनमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन् ।

एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा काठमाडौंमा भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले प्रजातान्त्रिक व्यवस्था बलियो बनाउन निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताए ।

निर्वाचन आयोग र  एसियन नेटवर्क फर फ्री इलेक्सनको आयोजनामा छैठौं एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमलाई सम्बोधन गर्दै उनले भने ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रजातान्त्रिक व्यवस्थाको मूल मर्म हो । निर्वाचनले जनतालाई शासन व्यवस्थामा पठाउन को उपयुक्त छ भनेर छनोट गर्ने अवसर प्रदान गर्छ ।’  संवैधानिक प्रावधानअनुसार नेपालमा निर्वाचन आयोग स्वायत्त निकाय रहेको उनले बताए । आयोगले दुई कार्यकालका लागि तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको पनि उनले बताए ।

नेपाल लोकतान्त्रिक गणतन्त्र घोषणापछि भएका निर्वाचनबाट सबै वर्ग र लिंगका हकमा पहुँच सुनिश्चित भएको भनाइ उनले राखे । ‘हामीकहाँ महिलालाई न्युनतम ३३ प्रतिशत प्रतिनिधित्व गराउनैपर्ने प्रावधान छ । तर हालैको स्थानीय तह निर्वाचनमा महिला प्रतिनिधित्व ४१.६ प्रतिशत हुनसक्नु हाम्रा लागि निकै सुखद कुरा हो,’ उनले भने, ‘प्रजातन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निष्पक्ष निर्वाचन हो, हाम्रो निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन अधिकारसम्पन्न छ ।’

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो । बिहीबार समापन भएको सम्मेलनमा नेपाललगायत विभिन्न मुलुकका प्रतिनिधिले सात विषयमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?