संघीयताप्रति वितृष्णा बढाउन संघ सरकार जिम्मेवार : मन्त्री गंगानारायण श्रेष्ठ

लोकपथ
21
Shares

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको आरोप लगाएका छन् ।

रामेछापको मन्थलीमा बुधबार वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधानको साझा अधिकारको सूचीमा रहेका अधिकार अहिले पनि प्रदेश सरकारले कार्यान्वयन गर्न नपाएको गुनासो गरे ।

केन्द्र सरकारले कानुन नबनाइदिँदा र बनेकै कानुन पनि कार्यान्वयन नगरिदिँदा प्रदेश सरकार निकम्मा बन्दै गएको उनको भनाइ थियो । ‘हामीले हाम्रो अधिकार पाइरहेका छैनौं । बोर्ड टाँसेर मात्रै बस्नु परेको छ,’ उनले भने ।

जनताको संघीयता प्रति वितृष्णा जागिरहेको बेला संघीयताको ठिकसँग कार्यान्वयन नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । यसले गर्दा जनतालाई संघीयताको प्रत्याभूति दिन नसकेको उनले बताए ।

प्रदेशको आवश्यकता र औचित्यमाथि उठेका प्रश्नलाई पुष्टि गराउन एक खालको घृणा फैलाउने काम भइरहेको बेला संघीय सरकारको गतिविधि पनि त्यस्तै भएको उनले आरोप लगाए । ‘एकातिर धमिलो पानीमा माछा मार्ने शक्ति आइरहेका छन्, अर्कातिर संघीय सरकारले त्यसको लागि स्पेस दिइरहेको छ,’ उनले भने ।

प्रदेशहरूले संघसँग भिक मागेको नभई संविधानले दिएको अधिकार माग गरेको उनले स्पष्ट पारे । अहिले संघीय सरकारले प्रदेश सरकारलाई हात–गोडा बाँधेर दौडमा होमेको उनले टिप्पणी गरे ।

राजनीतिक नेतृत्वको इच्छाशक्ति संघीयता कार्यान्वयन गर्ने तर्फ नदेखिएको पनि उनले बताए । प्रदेशलाई अधिकार नदिँदासम्म व्यवस्था र संघीयताको रक्षा हुन नसक्ने उनले दाबी गरे । संघीय सरकारको कामले घृणा फैलाउनेलाई नै सहयोग पुग्ने उनले बताए ।

प्रदेशलाई संविधान र कानुनले गरेको व्यवस्था अनुसार प्रहरी हस्तान्तरण गर्न पटक पटक आग्रह गरिएको भए पनि केन्द्र सरकारले त्यसमा ध्यान नदिएको उनले गुनासो गरे । सो विषयमा हालै मात्र सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको भए पनि त्यसको कार्यान्वयन गर्ने छाँट नदिएको भन्दै उनले आलोचना गरे ।

‘त्यो ध्यानाकर्षण पत्र पनि प्रदेशका मन्त्रीहरूको काठमाडौं भ्रमण मात्रै जस्तो भयो, यसरी संघीयता सफल हुँदैन’,उनले भने ।

संघीयता माथि प्रश्न उठे पनि नेपालमा पुनः राजतन्त्र भने नफर्किने उनले दाबी गरे । ‘राजतन्त्र फर्काउने कुरा मनको लड्डु घ्युसँग खानु मात्रै हो’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?