भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्वारा कार्यक्रमको उद्घाटन

लोकपथ
35
Shares

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २४ मा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गरेकी छन् ।

प्रमुख दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन्।कार्यक्रमको उद्घघाटन गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासीलाई सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

यस कार्यक्रममा स्वास्थ्य समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा गरिने जानकारी दिइन् ।

उनले भनिन् “थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।”यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ ।

दाहालका अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागू हुने । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुन्छ  बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

यस क्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने दाहालले जानकारी दिएकी छन् । दाहालका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछ । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जाने छन् । सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइनेछ ।करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको बताएकाे छ ।

स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा. भोजराज अधिकारीलाई नियुक्त भएका छन् ।महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेको छ ।

वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?