यसरी चल्न पुग्यो झापामा गोली, के थियो घटना निहुँ ?

झापा, ११ कात्तिक- झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु शंकास्पद भएको घटनामा आफन्तले दिएको उजुरी प्रहरी अनुसन्धान अपूरोे भएको भन्दै आफन्त र गाउँलेले बिर्तामोडमा निकालेको विरोध र्‍याली हिंसामा परिणत भएको हो , नयाँ पत्रिकामा खबर छ विजयादशमीका दिन बिहान १४ असोजमा आफन्तको घरमा जुत्ता लिन गएका ११ वर्षीय सिवाकोटीको शव भोलिपल्ट बिहान विर्तामोड नगरपालिका–१ को बैसाबाडीमा फेला परेको थियो । शरीरका विभिन्न भागमा चोट देखिनुका साथै अन्डकोष काटिएको अवस्थामा शव फेला परेपछि आफन्त र गाउँलेले घटनालाई हत्या भन्दै गम्भीर छानबिनको माग गर्दै आएका थिए बालकको मृत्यु प्रकरणमा विर्तामोड–५ का सुरेश पोखरेल र उनका परिवारका आठजना सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो । प्रहरीले शुक्रबार सबै आरोपीलाई अदालतमा बुझाउने तयारी गर्दा विरोध हिंसामा परिणत भएको हो । बालकको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिहीबार मात्रै संघर्ष समिति गठन गरेर आन्दोलन थालेका थिए प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान नगरी आरोपीलाई अदालतमा पेस गर्ने तयारी गरेको भन्दै आफन्त र गाउँलेले शुक्रबार विर्तामोड बन्दको आह्वान गरेका थिए । बन्द सफल पार्ने अभियानस्वरूप निकालिएको विरोध जुलुसमा प्रहरीले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?