काठमाडौं । नेपालकै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो– बुद्ध एयर । देशैभरका ठूला विमानस्थलहरुमा उडान भर्ने बुद्ध एयरले भारतमा समेत उडान गर्दै आइरहेको छ । धेरै विमान भएको एयरलाइन्स र राम्रो नाफा कमाइरहेको भएपनि बुद्ध एयरले कर नतिरी अटेर गरी बसेको करसमेत छुट दिएको तथ्य खुलेको छ ।
तत्कालीन कर फछ्र्यौट आयोगका पदाधिकारीले बदनियत राखी बुद्ध एयरले तिर्नुपर्ने करिब ३३ करोड करमध्ये करिब ५ करोड रुपैयाँ मात्रै लिई २८ करोड रुपैयाँभन्दा बढी कर मिनाहा गरिदिएको थियो । कर फर्छौट आयोग, २०७१ का अध्यक्ष लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्माको निर्णयका आधारमा बुद्ध एयरले कर नतिरी अटेर गरी बसेको करिब २८ करोड रुपैयाँ मिनाहा भएको थियो ।
तर, कर फर्छौट आयोगले बदनियतपूर्वक आर्थिक लाभ लिएर यस्तो निर्णय गरिएको र विधि तथा प्रक्रिया पूरा नभएको, स्वार्थ देखिएको र कानुनसम्मत नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साल साउन १ गते विशेष अदालतमा पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ग¥यो ।
अख्तियारले कर फर्छौट आयोग, २०७१ का पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर गरेपनि कर मिनाहा पाएर राज्यलाई कर नतिरी अटेरी गरी बस्ने बुद्ध एयरलाई भने भ्रष्टाचारको मुद्दामा प्रतिवादी बनाएको थिएन ।
अख्तियारको आभियोग पत्र अनुसार बुद्ध एयरले आर्थिक वर्ष २०५८।५९ देखि आर्थिक वर्ष २०६६।६७ सम्म करिब ३४ करोड रुपैयाँ आयकर र विशेष शुल्क वापतको १५ लाख रुपैयाँभन्दा बढी रकम सरकारलाई बुझाउनु पर्ने थियो । त्यसमा अग्रिम कर कट्टीको करिब ५ करोड रुपैयाँ सरकारी खातामा थियो ।
बुद्ध एयरले खुद आम्दानीमा नै गडबढ देखाएर जम्मा २ करोड ९९ लाख ४९ हजार ४६१ रुपैयाँ मात्रै खुद नाफा वा आय भएको दावी गर्दै ७९ लाख ३६ हजार ६०८ रुपैयाँ मात्रै आयकर तिरे पुग्ने अडिट रिपोर्ट कर कार्यालयमा पेश गरेको थियो । तर बुद्ध एयरको अडिट रिपोर्ट शंकास्पद देखिएको भन्दै कर परीक्षण गरेको ठूला करदाता कार्यालयले कर परीक्षण गर्दा बुद्ध एयरले आयकरवापत नै २ करोड ८८ लाख ८७ हजार ५८३ रुपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । मतलब बुद्ध एयरले आर्थिक वर्ष २०६२।६३ मा मात्रै ११ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको कर परीक्षण गरेको थियो ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको सबै कर र शुल्क जोड्दा कर फर्छौट आयोगसँग सम्झौता भएको मिति २०७२ असार २५ गतेसम्म बुद्ध एयरले कुल तिर्नुपर्ने करिब ३४ करोड रकममध्ये २८ करोड रुपैयाँभन्दा बढी छुट दिइएको थियो । उक्त कार्य बदनियतपूर्वक भएको र बिना आधार र कारण छुट दिई राज्यलाई हानी पुराइएको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
माग नै नगरेको समयको पनि कर फर्छौट !
कर फर्छौट आयोगका तत्कालीन पदाधिकारी लुम्बध्वज महत, उमेश प्रसाद ढकाल र चुडामणि शर्माले बुद्ध एयरको कर छुट तथा मिनाहा गर्ने क्रममा मागदावी नै नलिएको समयको समेत कर छुट र मिनाहा दिएको पाइएको छ । बुद्ध एयरले आर्थिक वर्ष २०६२।६३ को आयकरको सम्बन्धमा विवाद भएकाले फर्छौट गरिपाउन माग गरेको भएपनि कर फर्छौट आयोगले भने सम्झौता अवधि अर्थात् आर्थिक वर्ष २०७१।७२ सम्मको कर फर्छौट गरिदिएको थियो । सम्झौता यतिसम्मको लज्जास्पद रहेको थियो कि बुद्ध एयर आफैले अडिट रिपोर्ट तयार पारी तिर्छु भनेको करसमेत आयोगले मिनाहा गरिदिएको थियो । जसका कारण राज्यलाई बुद्ध एयरबाट आउनुपर्ने २८ करोड रुपैयाँभन्दा बढी कर नोक्सानी भएको थियो ।
यस्तो थियो अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र
‘ठुला करदाता कार्यालय, ललितपुरबाट बुद्ध एयर प्रालिको आव २०५८।५९ देखि २०६६।६७ सम्मको कर निर्धारण भएकोमा उक्त विषयमा प्रशासकीय पुनरावलोकनको प्रकृया हुँदै राजस्व न्यायाधिकरणको फैसलाका सम्बन्धमा पुनरावेदनको अनुमति पाउँ भनी सर्वोच्च अदालतमा मिति २०७०।०३।१३ गते निवेदन दिई विचाराधीन रहेको अवस्थामा उक्त आवहरुको बक्यौता रकम कर फर्छ्यौट आयोग, २०७१ बाट फर्छ्यौट गरी पाउँ भनि मिति २०७२।०१।२३ गते निवेदन पेश गरेको देखिन्छ भने कर फर्छ्यौट भएको मिति सम्मको करदाताको आयकर बक्यौता कुल रु.३३,९२,६६,८५४।– भन्ने मिति २०७४।०३।२६ गतेको आन्तरिक राजस्व विभागको पत्रबाट देखिन्छ । फायलसाथ संलग्न कागजातबाट अग्रिमकर कट्टी वापत निर्धारित रु.४,९९,८२,९७३।– र विशेष शुल्क रु.१५,१६,७३१।– रहेको छ । आयोगका पदाधिकारीहरु र करदाताबीच आपसी कुराकानीद्वारा सम्झौता अवधिसम्मको कर फर्छ्यौट हुने गरी मिति २०७२।०३।२५ मा सम्झौता भएको देखिन्छ । तर सम्झौता अवधिसम्मको बक्यौता रकम आयोगले माग गरेको देखिँदैन । करदाताले आव २०६२।६३ मा स्वयंकर निर्धारणको आय विवरण खुद आय रु.२,९९,४९,४६१।– देखाई मिति २०६३।९।३० मा कर रु. ७९,३६,६०८।– समेत घोषणा गरी विवरण पेश गरेको देखिन्छ ।
कार्यालयले कर परीक्षण गरी स्वयंकर निर्धारण विवरणमा घोषणा गरेको करसमेत जम्मा रु.२,८८,८७,५८३।– आयकर निर्धारण गरेको देखिन्छ । करदाताले कर फर्छ्यौट आयोगमा मिति २०७२।१।२३ मा निवेदन दिई उक्त स्वयं घोषणाको करसमेत आव २०६२।६३ को लागि जम्मा रु.२,८८,८७,५८३।– फर्छ्यौट गर्न अनुरोध गरेको देखियो । कर फर्छ्यौट आयोगले आव २०५८।५९ देखि २०६६।६७ सम्म एकमुष्ट सम्झौता गरी करदाताले स्वयंकर विवरणमा निर्धारण गरेको कर नबुझाई आयोगबाट साँवा रु.७९,३६,६०८।– मिनाहा गरेको देखियो । सो को १० वर्षको ब्याजसमेत रु.१,१९,०४,९१२।– समेत रु.१,९८,४१,५२०।– गैरकानूनीरूपमा राज्यलाई हानि नोक्सानी पुर्याइ व्यक्तिलाई लाभ लिने गरी कार्य गरेको देखियो । साथै करदाता बुद्ध एयर प्रालिको लागि कर अधिकृतले निर्धारण गरेको कर निर्धारण आदेश विरुद्ध राजस्व न्यायाधिकरणमा परेको मुद्दा फैसला भई पुनरावेदनको लागि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अनुमतिको लागि निवेदन दिएकोमा सो समेत विचाराधीन नै रहेको अवस्थामा निवेदन फिर्ता नै नलिई क्षेत्राधिकार नै नभएको अवस्थामा कर फर्छ्यौट आयोगका पदाधिकारीहरुले बदनियतपूर्वक करदातासँग सम्झौता गरी करदातालाई छुट तथा मिनाहा दिनुपर्ने कुनै कानुनी तथा वस्तुनिष्ठ आधार एवं युक्तियुक्त र मनासिव कारण समेत नरहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरुले बदनियत राखी आयकर (अग्रिम कर) बापतको कुल जम्मा रु.२८,०७,६६,५५८।– छुट तथा मिनाहा दिई नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको देखिन्छ ।’
यसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको भ्रष्टाचारको मुद्दामा अख्तियारले कर छुट वा मिनाहा पाउने बुद्ध एयरलाई भने प्रतिवादी बनाएको थिएन । आर्थिक लाभ लिई बदनियतपूर्वक कर छुट दिएको आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्यद्वय उमेर प्रसाद ढकाल र चुडामणि शर्मालाई मात्रै प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
सो मुद्दामा फैसला गर्दै विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बुद्ध एयरलाई दिइएको कर छुट तथा मिनाहा कानुन विपरीत र बदनियतपूर्ण भएको ठहर गरेको छ ।
विशेष अदालतको फैसलामा भनिएको छ,
‘बुद्ध एयर प्रालिको ठुला करदाता कार्यालय, ललितपुरबाट आव २०५८।५९ देखि २०६६।६७ सम्मको कर निर्धारण उपर पुनरावेदनको अनुमति पाउँ भनी करदाताले सर्वोच्च अदालतमा निवेदन दिई विचाराधीन रहेको अवस्थामा उक्त आवहरुको आयकर बक्यौता कुल रु. ३३,९२,६६,८५४, अग्रिमकर कट्टी वापतको रू.४,९९,८२,९७३, विशेष शुल्क रू.१५,१६,७३१ र स्वयंकर निर्धारण गरेको रू.२,८८,८७,५८३ समेत फर्छ्यौट गरी पाउँ भनि निवेदन पेश गरेकोमा मिति २०७२।०३।२५ मा सम्झौता हुँदा सम्झौता अवधिसम्मको बक्यौता रकम आयोगले माग नगरी गैरकानूनीरूपमा कुल रु. २८,०७,६६,५५८ छुट दिई राज्यलाई हानि नोक्सानी पु¥याएको भन्ने आरोप दावी देखिन्छ । सो सम्बन्धमा करदाताले पेश गरेको निवेदन र कर फर्छ्यौट आयोगसँग गरेको सम्झौता समेतका कागजहरू हेर्दा मिति २०७२।०३।२५ को सम्झौतामा करदातालाई कर छुट दिनुपर्ने कुनै आधार र कारण उल्लेख भएको देखिएन । करदाताको बक्यौता कति हो कर कार्यालयबाट माग गरेको पनि देखिएन । यसरी कर छुट वा मिनाहा दिनुपर्ने आधार कारण र बक्यौताको विवरण समेत माग नगरी हचुवामा कर छुट दिएको देखिँदा प्रतिवादीहरूको बदनियत पुष्टि हुन आयो । उक्त कार्यबाट राज्यलाई कुल रु. २८,०७,६६,५५८ हानि नोक्सानी पुगेको देखियो ।’
यसरी नाफा कमाउँदा कमाउँदै पनि कर नतिरी अटेरी गर्ने र मौका कुरेर बदनियत राखी राज्यलाई तिर्नुपर्ने कर नतिरी उम्कने बुद्ध एयरलाई दिइएको कर छुट तथा मिनाहालाई पनि अदालतले गैरकानुनी ठहर गरेको छ । बुद्ध एयर लगायतका कम्पनीहरुलाई कर छुट दिने तत्कालीन कर फर्छौट आयोग, २०७१ का अध्यक्ष लुम्बध्वज महत तथा सदस्यद्वय उमेश प्रसाद ढकाल र चुडामणि शर्मालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ बिगो तथा जरिवाना र जनही ९ वर्ष जेल सजाय सुनाइएको छ ।
अदालतले दोषी ठहर गरेपनि दोषी ठहर भएकाहरुलाई प्रहरीले पक्राउ भने गरेको छैन । उनीहरु पुनरावेदनका लागि सर्वोच्च अदालत जान पाउने भएपनि त्यो अवधिसम्म प्रहरीले पक्राउ गरी उनीहरुलाई जेलमा पठाउन भने सक्नेछ ।
को हुन्, बुद्ध एयरलाइन्सका मालिक बिरेन्द्रबहादुर बस्नेत ?
यतिबेला बुद्ध एयरको साम्राज्यको मालिक हुन्– वीरेन्द्रबहादुर बस्नेत । सन् १९९६ मा दर्ता भएर १९९७ अक्टुबर ११ बाट उडान सुरु बुद्ध एयर आज पनि निरन्तर आकाशमा उडिरहेको छ । ९ करोड रुपैयाँ लगानीबाट सुरु भएको बुद्ध एयरसँग आज १७ वटा विमान छन् भने दैनिक झण्डै १० हजार यात्रुलाई सेवा दिइरहेको छ ।
यसका मालिक वीरेन्द्रको बुद्ध एयरसँगको यात्राबारे थाहा पाउन एकपटक २०४२ सालतिर फर्कनुपर्ने हुन्छ । जतिबेला बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बुबा सुरेन्द्रबहादुरले मोरङमा सञ्चालन गरेको बहुमुखी कृषि फार्मको व्यवस्थापन हेर्थे । उक्त फार्ममा माछापालन, फलफूल तथा अनाज उत्पादन हुन्थ्यो, जसबाट वीरेन्द्रले वार्षिक ७ लाख रुपैयाँजति आम्दानी गर्थेे, तर त्यो आम्दानीले वीरेन्द्रको परिवारको खर्च धान्न मुस्किल हुन थाल्यो । यही क्रममा उनीहरूले अरू कुनै क्षेत्रमा लगानी गर्र्नेे सोच बनाए, तर कुन क्षेत्रमा लगानी गर्ने भन्ने दुविधा थियो । त्यतिबेला उनीहरूको दिमागमा कार्पेटदेखि गार्मेन्ट व्यापारसम्मका कुरा आए । त्यतिबेला कार्पेट र गार्मेन्टको व्यापार पनि ओरालो लागेको समय थियो । यही क्रममा वीरेन्द्रलाई आफन्त तथा साथीभाई ले वीरेन्द्रलाई एयरलायन्समा लगानी गर्न सुझाए ।
सुरुवातमा उनले आफ्नो पुस्तैनी घरजग्गा धरौटी राखेर ९ करोड रुपैयाँ ऋण लिए । जसबाट उनले अमेरिकाबाट १९०० डी बिचक्राफ्ट नामक नयाँ जहाज ल्याए, जसको मूल्य त्यतिबेला ५० लाख अमेरिकी डलर थियो । त्यतिबेला उनले १० प्रतिशत डाउन पेमेन्ट तथा ९० प्रतिशत फाइनान्समार्फत उक्त विमान काठमाडौं ल्याएका थिए । सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरलायन्सले काठमाडौं–पोखराबीच पहिलो उडान गरेको थियो । छोटो समयमै बुद्ध एयरले राम्रो सफलता हात पार्यो । त्यतिमात्र होइन बुद्धको प्रतिस्पर्धामा आउने अन्य वायू सेवा कम्पनीहरु धरासयी हुँदै बन्द नै हुने अवस्थामा पुगे । त्यसको उदाहरणको रुपमा ठूला व्यापारीक घरानाको लगानी भएको नेकोन, एभरेष्ट, नेपाल एयरवेज हुन् । सुरुवाती दिनबाटै माउण्टेन फ्लाइट सुरु गरेको बुद्ध एयरले नेपालमा माउण्टेन फ्लाइटलाई आफूहरुले नै स्थापित गरेको दाबी गर्दै आएको छ ।
यहीबीचमा वीरेन्द्रका भाई शिवेन्द्रबहादुर बस्नेतले पनि उनीसँग प्रतिस्पर्धा गर्न प्रज्ञानशमसेर राणासँग मिलेर माउण्टेन एयरको स्थापना गरे । तर, उनको माउण्टेन एयर बन्द भयो । यसपछि दाजुभाईबीच मनमुटावको वातारण सुरु भयो । त्यो विवाद यतिसम्म पुग्यो कि गत वर्ष शिवेन्द्रले पत्रकार सम्मेलन गर्दै आफूलाई दाजु वीरेन्द्रले पारिवारिक विजनेशमा ठूलो धोका दिएको समेत बताए । तर, वीरेन्द्रले भने २०५६ सालबाटै शिवेन्द्र बुद्ध एयरबाट बाहिरिएको दाबी गर्दै आएका छन् ।
२० जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरलाइन्समा अहिले एक हजारभन्दा बढी कर्मचारी छन् । तर, वीरेन्द्र बुद्धबाट चिनिएपनि उनको व्यावसायिक यात्रा भने यसमा मात्र निर्भर छैन । उनले ५० करोड रुपैयाँभन्दा बढी लगानीमा मोरङको बेरबारीमा आरजु राइस मील सञ्चालनमा ल्याएका छन् । जसको उनी कार्यकारी अध्यक्ष हुन् । २ विगाहा क्षेत्रफलमा सञ्चालित उक्त राइस मिलले यतिबेला बजारमा प्रिसिमयर लोकल चामल ल्याएको छ मिलका महाप्रबन्धक विवेकानन्द झाले लोकपथसँग बताए । उनका अनुसार मिलले बिऊका लागि सहजिकरण, कृषि उपकरणमा सहयोग गर्दै आएको छ । मिललाई वार्षिक रुपमा २२ हजार टन धानको आवश्यकता पर्छ । जसका लागि ७ हजार विगाहा खेतसम्म पुग्ने राइस मिलको लक्ष्य रहेको छ । ‘यसवर्ष हामी ३ हजार विगाहा खेतमा पुगिसकेका छौँ,’ उनले भने, ‘आगामी वर्ष ७ हजार विगाहा खेतका किसानसम्म पुग्ने हाम्रो लक्ष्य छ ।’ यसैगरी, यसवर्ष तीन हजार टन धानको चामल विक्री गरेको झाले जानकारी दिए ।
यसरी आकाशदेखि जमिनसम्म व्यावसायिक साम्राज्य बनाएका बस्नेतले नै राज्यको ढुकुटीमा जाने करोडौं रकमको कर तिर्न अटेर गर्दै मिनाहा गराउनेसम्मको खेलमा लाग्नु आफैंमा लज्जाजनक कुरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया