काठमाडौं । हिन्दी चलचित्रमा एउटा डाइलग छ, ‘अगर किसी चिजको दिल से चाहो तो पूरी कायनाथ उसे तुमसे मिलानेकी कोशीसमे लग जाती है ।’ अर्थात् कुनै कुरालाई मनैदेखि चाहने हो भने त्यो जसरी पनि पूरा भएरै छाड्छ । यो एउटा चलचित्रको सानो संवाद मात्र होइन, यसलाई यथार्थमा परिणत गरेका कैयौँ उदाहरणहरु छन् । त्यहीमध्येकै एक उदाहरणीय पात्र हुन्, गायिका मेनुका पौडेल ।
संगीतमा रुची राख्ने जोकोहीका लागि पनि मेनुका पौडेल परिचित पात्र हुन् । प्रतिभाकै कारणले मेनुकाले राष्ट्रिय दायरा पार गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत आफ्नो उपस्थिति जनाएकी छिन् ।
आफ्नो गायकीका कारण नेपालीले गर्व गर्न लायक बनेकी मेनुकाको चर्चा भारतभर मात्र होइन संसारभर भइरहेको छ ।
२५ वर्षीया मेनुका फरक क्षमता भएकी व्यक्ति हुन् । उनी आँखाको दृष्टिबाट बञ्चित छिन् । तर, उनले आफ्नो इच्छाशक्ति र प्रतिभाका कारण जब भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को १४औँ संस्करणमा गुन्जिइन् त्यसपछि एकाएक उनको चर्चा चुलिन थाल्यो ।
जब उनको अडिसन टेलिभिजनसँगै युट्युबमा प्रशारण भयो त्यसपछि भारतका दिग्गज संगितकारदेखि गायक तथा कलाकारहरुले त्यो प्रस्तुतीको प्रशंसासमेत गरेका छन् ।
२०५५ सालमा झापाको हल्दीबारी–४ मा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । सामान्य आर्थिक अवस्था भए पनि बुबाआमाले उनलाई आँखाको उपचारका लागि धेरै प्रयास गरे । उनका बुवाआमाले आँखाको उपचारका लागि अस्पतालदेखि धामी–झाँक्री सबैतिर धाउँदा पनि केही सीप नलागेपछि उनलाई ४ वर्षको उमेरमै झापा गह्रामुनीस्थित दुर्गा माविको होस्टलमा लगेर राखिदिए । त्यहाँ उनी जस्तै दृष्टिबिहीन बालबालिका थिए । सोही होस्टेलमा मेनुकाले आफ्नो बाल्यकाल बिताइन् ।
दृष्टिबिहिन भएपनि मेनुका सानैबाट अति आत्मविश्वासी थिइन् । उनी बाल्यकालदेखि नै ह्वाइट केन हातमा समाएर शहरबजार एक्लै हिँड्ने गर्थिन् । उनी अहिलेपनि एक्लै नेपाल–भारत आउने जाने गर्छिन् । ब्रेल लिपिमा अध्ययन गरेकी मेनुकाले प्रथम श्रेणीमा एसएलसी पास गरेकी छिन् ।
संगीतमा मेनुकाको लगाव पनि सानैदेखि थियो । चार वर्षको उमेरमा दुर्गा माविको होस्टेलमा छिर्दा त्यहाँ बजेको हार्मोनियमको धुनले उनलाई तानेको थियो । ७ वर्षको उमेरमा नै आफैँले हार्मोनियम बजाउन सिकिसकेकी मेनुकाको पढाइमा भन्दा संगीतमा नै लत बस्यो । उनीे स्कुलभित्र र बाहिर थुप्रै गायन प्रतियोगिताहरुमा भाग लिएर पुरस्कृतसमेत भएकी थिइन् ।
एसएलसी सकेर काठमाडौं प्रवेश गरेपछि उनले निकै संघर्ष गरिन् । उनको संघर्षमा भरपर्दो साथी भनेको मोबाइल थियो । उनी मोबाइल चलाउनमा पोख्त भइसकेकी थिइन् । उनले कतै पनि आफ्नो शारीरिक कमजोरीलाई सहारा बनाइनन् । मेनुकाका बुवाले उनको इच्छाअनुसार नै संगीत पढाउने कलेजमा नै भर्ना गरिदिए । कपनमा रहेको दृष्टिविहीनहरु बस्ने होस्टेलमा बसेर उनी आकाशेधारामा रहेको म्युजिक कलेज धाउँथिन् ।
काठमाडौं आएको केही समयमै उनले रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगितामा भाग लिइन् र त्यसमा उनी प्रथम भइन् । त्यसपछि उनको हौसला झन बढ्यो । अनि उनले २०७४ सालमा नेपाल आइडलको पहिलो सिजनमा भाग लिइन् । त्यतिबेला उनको उमेर १८ वर्ष थियो । उनको नेपाल आइडलको यात्रा भने टप ११ मा सिमित भयो । भोटिङका आधारमा उनी सोबाट आउट भइन् । तर नेपाल आइडलको माध्यमबाट देशविदेशमा रहेका नेपालीहरुमाझ मेनुका परिचित भइन् । नेपाल आइडलको मञ्चबाट बाहिरिएपनि उनको सांगीतिक यात्रा भने रोकिएन् ।
उनले २०७५ सालमा भारतीय टीभी च्यानलले सुरु गर्न लागेको ‘सा रे ग म प’ को भाग लिईन् । मेनुकाले काठमाडौंमा भएको अडिसनमा भिडियो अडिसन दिएर प्रतियोगितामा सयौंबाट छानिएर कोलकाता पुगिन् । त्यसपछि उनी कोलकाता अडिसनबाट पनि छानिएर मुम्बईमा अडिसन दिन पुगिन् । पाँचौँ चरणमा दिएको अडिसन बल्ल अन एयर भएपछि उनी थप चर्चाको शिखरमा पुगिन् ।
मुम्बई अडिसनमा मेनुकाले लता मंगेशकरको गीत गाउँदा जजहरुले एकदमै तारिफ गरेका थिए । तर, त्यहाँ पनि उनको यात्रा टप ११ मै सिमित भयो । ‘सा रे ग म प’ बाट आउट भएपछि उनले आफूले गीत राम्रो नै गाएपनि गायनमा मात्र नभएर धेरै कुरामा विचार पु¥याउनुपर्ने बताएकी थिइन् । स्वमूल्यांकनमा विश्वास राख्ने मेनुका आफूलाई निरन्तर निखार्दै र तिखार्दै गइरहिन् ।
‘सा रे ग म प’ बाट आउट भएपछि नै उनले इन्डियन आइडलको तयारी सुरु गरेकी थिइन् । मेनुकाले इन्डियन आइडलको अडिसनमा गोल्डेन माइक पाएपछि सिधै थियटर राउन्डमा स्थान बनाएकी थिइन् । उनको प्रस्तुतिले केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर सम्मान गरे । उनको प्रस्तुतिले निर्णायकहरुका आँखा रसाएको प्रष्ट देख्न सकिन्थ्यो । उनका हरेक प्रस्तुतिले जज, सहभागि हुने गेस्ट मात्र होइन दर्शकको समते मन जितिरहेकी छिन् ।
इन्डियन आइडल सिजन १४ को पछिल्लो शोमा गेष्टको रुपमा अभिनेता रणवीर कपूर र अभिनेत्री रस्मिका मन्दना सहभागि थिए । त्यसबेला मेनुकाले रनवीर कपुर अभिनित चलचित्र ‘तमाशा’ को ‘अगर तुम साथ हो’ भन्ने गीत गाएकी थिइन् । गीत गाइसकेपछि रनवीरले आशीर्वाद लिन चाहेको भन्दै मेनुकाको खुट्टा ढोगेका थिए । त्यो दृश्यले यतिबेला विश्वभर नै तहल्का पिटिरहेको छ । रणवीरले मेनुकाको चर्चा गर्दै मेनुकालाई देवीको उपमासमेत दिएका थिए । अहिले उक्त भिडियोले सामाजिक सञ्जालदेखि आम मिडियासम्मले स्थान पाइरहेको छ ।
मेनुकाले अहिले इन्डियन आइडलको टप १४ मा धमाका मच्चाइरहेकी छिन् । जहाँ उनले गीत गाएर सफलता मात्र हासिल गरेकी छैनन्, उपाधिको लक्ष्यका लागि संघर्षसमेत गरिरहेकी छिन् । चाह्यो भने के सम्भव छैन ? मनमा इच्छा शक्ति, दरिलो आत्मविश्वास भयो अन्य कुराहरु गौण हुन्छ र लक्ष्य चुम्न सकिन्छ भन्ने दर्विलो खम्बा बनेर उभिएकी मेनुका वर्तमानको चर्चा र भविष्यमा साराको मन जित्ने तारा बन्न सक्छिन् भन्ने उदाहरण हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया