काठमाडौं । नेवार समुदायप्रति दिएको अभिव्यक्तिका सम्बनधमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतले सिंहलाई दोषी ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार मंसिर १० गते आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले सिंहलाई दोषी ठहर गर्दै १० हजार जरिवाना गराउने फैसला सुनाएको हो ।
स्ट्यान्ड अप कमेडीमा नेवार समुदायको परम्पराको सम्बन्धमा गरेको प्रस्तुती युट्युबमा अपलोड गरेपछि नेवार समुदायले सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
मुख्यतः नेवार समुदायमा प्रचलित बेल विवाह लगायतका विषयमा सिंहले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनीविरुद्ध आवज उठेपछि सिंहले माफी माग्दै उक्त भिडियो युट्युबबाट हटाएका थिए । त्यसलगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेवार समुदायका तर्फबाट पृथविन्दु महर्जन लगायतका व्यक्तिले जाहेरी दिएका थिए । जाहेरीपछि सिंह २०७९ भदौ १२ गते पक्राउ परेका थिए ।
हिरासतमा रहेकै समयमा सिंहलाई कोरोना संक्रमण भएपछि प्रहरीले सिंहलाई हाजिरी जमानीमा छाडेको थियो । तर कोरोना निको भएलगत्तै सिंहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । सिंहविरुद्ध सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्बनधी कसुर, सामाजिक रितिस्थितमा खलल सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।
सो मुद्दामाथि आइतबार फैसला गर्दै काठमाडौं जिल्ला अदालतले सिंहलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।
अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा १६५ बमोजिम ‘सामाजिक रीति स्थितिमा खलल पार्न नहुने’ कसुरमा दोषी ठहर गरेको हो । सो कसुर गर्ने व्यक्तिलार्य एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै गर्न सकिने कानुनी व्यवस्था छ । सिंहलार्य भने १० हजार रुपैयाँ जरिवाना मात्रै गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया