विधि र पद्धतिअनुसार चल्न नसक्दा पार्टी कमजोर : कांग्रेस नेत सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्धतिअनुसार पार्टी चल्न नसकेको बताएका छन् । 

शनिवार नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै नेता सिंहले विधि र पद्धतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन् । 

“मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन,” उनले भने । पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाउँदै गएको बताए । 

कांग्रेसले इतिहासले मात्र भजाएर हुँदैन भविष्यका लागि सोच्नु जरुरी रहेको बताउँदै उनले भने, ‘ विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा हो, तर विकास बजेट खर्च हुन नसक्नु दुःखद कुरा हो ।’

नेता सिंहले स्थानीय तथा प्रदेश सरकार सञ्चालनका लागि चाहिने आवश्यक ऐन, कानून, नीतिनियम बनाउन ढिला गरेर सरकारले सक्षमताका साथ सरकारको नेतृत्व गर्न नसकेको आरोप लगाए । 

कांग्रेस नेता भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य गरी आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बेला आएको बताए । “कांग्रेसले आगामी निर्वाचनका लागि आजैदेखि सङ्गठन निर्माणमा लाग्नुपर्छ,” उनले भने । 

पार्टीका काठमाडौंका सभापति सबुज बानियाँले महासमिति बैठकले गरेको निर्णयलाई पार्टी नेतृत्वले उल्टाएको बताउँदै पार्टी नेतृत्वको दबाबका लागि यही चैत २० र २१ गते जिल्ला सभापतिको भेला आयोजना गरिएको जानकारी दिए । टोखा–११ का अध्यक्ष उत्तम अधिकारीले खानेपानी, ढल र सडकको विकासमा वडाले काम गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?