जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाममा शिक्षा मन्त्री र प्रदेश सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड भएको छ ।
प्रदेश २ मा लगातार तीन विषयको प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसईई परीक्षका कारण आक्रोशित भनेका परीक्षार्थीहरुले विभिन्न ठाउँमा प्रदर्शन शुरु गरेका छन् ।
विरोधमा उत्रिएका परीक्षार्थीले जनकपुरधाममा प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् भने सप्तरीमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् ।
यसैगरी धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
जनकपुरधामसहित आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी लगायत विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो । तर, शनिवार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र शुक्रवार नै बाहिरिएपछि शिक्ष मन्त्रालयले प्रदेश २ को एसईई परीक्षाको बाँकी परीक्षा स्थति गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।
यतिबेला प्रदेश २ को आठ वटौ जिल्लामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । सप्तरीमा बिहानैदेखि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
बिहान ८ बजेदेखि चक्काजाम गरिएपनि कल्याणपुरको चक्काजाम भने प्रहरीले सञ्चालनमा ल्याएको छ भने खरचुहियामा निरन्तर चक्काजाम जारी छ ।
आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।
उता राजविराजबाट पनि आक्रोशित विद्यार्थीहरुले सवारी चल्न दिएका छैनन् । ठाउँ–ठाउँमा टायर बालिएका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्नमा रोक लगाएका छन् ।
जनकपुरधामको पनि विभिन्न चोकहरुमा टायर बालेर विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया