पोखराका भान्छामा तीस वर्षदेखि पाक्दैछ बायोग्यासमा खाना

लोकपथ
42
Shares

पोखरा । बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युतको पहुँच पनि भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ ।

यसले मध्यम परिवारको खाना पकाउन प्रयोग हुने ऊर्जाका लागि मासिक दुईदेखि तीन हजारसम्म खर्च हुने गर्दछ । तर यहाँका थोरै घरका बासिन्दाले अहिले पनि ३० वर्षदेखि निरन्तर बायोग्यासमै खाना पकाउने गर्दछन् र त्यसका लागि हुने खर्च बचत गरिरहेका छन् ।

यस्तै, परिवारमा पर्दछ, पोखरा महानगरपालिका–१० महतगौँडा सरस्वती भण्डारीको परिवार । उनको घरमा २०५१ सालमा आठ घनमिटरको बायोग्यास प्लान्ट जडान भएको हो । पहिलेको घरधनी पुष्पराज शर्माले सो प्लान्ट जडान गराएका थिए। उनले नै १४ वर्ष निरन्तर चलाए । पुष्पराजसँग घर किनेपछि सरस्वतीको परिवारले पनि त्यस प्लान्टलाई निरन्तर प्रयोगमा ल्याउँदै आएको छ । २०६५ सालमा घर किनेपछि प्लान्टमा पनि सामान्य मर्मत, रङ्गरोगन गरेपछि राम्रोसँग सञ्चालन हुँदै आएको उनी बताउछिन्।

उतिबेला खाना पकाउनका लागि नजिकको जङ्गलमा दाउरा लिन जानुपर्ने, भान्छामा घण्टौँसम्म धुवाँमा बसेर खाना पकाउनुपर्ने र कालो भाँडाकुँडा मस्काउँदाका पीडा उनले बिर्सिएकी छैनन् । घरमा पहिले नै बायोग्यास प्लान्ट सञ्चालन भएको देखेपछि उहाँले आफ्ना विगतका दुःख सम्झँदै घर किन्न आफूले श्रीमान् लोकराज भण्डारीलाई सल्लाह दिएको बताउछिन् उनी बिहान एक घण्टा र साँझ एक घण्टा खाना पकाउन र दिउँसोको समयमा पनि चिया पकाउन बायोग्यास नै प्रयोग गर्छिन् । उनको घरमा एलपी ग्यास नभएको पनि होइन ।

“सकभर म बायोग्यास नै बाल्छु, कुनै कुनै दिन नपुगेमा भने एलपी ग्यास बाल्ने गरेको छु । एक सिलिन्डर ग्यासले चार महिना सजिलै पुग्ने गर्दछ”, उनी भन्छिन्, “छिमेकीको घरमा एक सिलिन्डरले एक महिना पुर्याउन धौधौ हुने गरेको भन्छन् । यस हिसाबले त मलाई बायोग्यासबाट महिनामै रु एक हजार पाँच सय त बचत भएको छ । बायोग्यास निःशुल्क पाउने हुँदा एलपी ग्यास बाल्दा पैसा सकिएजस्तो लाग्छ ।” चिसो मौसममा भने केही कम बायोग्यास प्लान्टबाट ग्यास आउने गरेको उनको अनुभव छ ।

बायोग्यास प्रविधिको विकासका क्षेत्रमा नेपालले आधा शतकभन्दा बढी समय व्यतित गरिसकेको छ । बायोग्यास प्रविधिको प्रवद्र्धन २०३० सालदेखि नेपाल सरकारले सुरु गरे पनि व्यवस्थित रुपमा बायोग्यास सहयोग कार्यक्रम नेदरल्यान्ड सरकारको सहयोगमा निदरल्यान्डस् विकास नियोग ९एसएनभी नेपाल० ले २०४९ सालदेखि सुरु गरेको हो । विएसपी नेपाल सञ्चालन हुनु अघिसम्म नेपालमा जम्मा ११ हजार बायोग्यास प्लान्ट निर्माण भएका थिए ।

एसएनभीमार्फत नेदरल्यान्डस् सरकारले बायोग्यास सहयोग कार्यक्रमको थालनी गरेसँगै व्यवस्थित रुपले मुलुकभर बायोग्यास प्रणालीको विकास र विस्तार हुन थालेको विएसपी नेपालको कार्यकारी निर्देशक प्रकाश लामिछाने बताउछन् । हालसम्म जडान भएका करीब पाँच लाख बायोग्यास प्लान्टमध्ये एसएनभीको सहयोग अवधि ९सन् १९९१–२०१०० मा दुई लाख ३१ हजार प्लान्ट निर्माण भएका थिए । उहाँका अनुसार पोखरामा उतिबेला जडान भएका प्लान्टहरु पनि एसएनभीको सहयोगमा बनेका थिए ।

एसएनभीको बायोग्यास बजार विकासको अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार सरोज राईले दाताहरुको आर्थिक सहयोग भएमा मझौला र ठूला बायोग्यास प्रविधिमा थप सहयोग जरुरत भएको अवस्थामा एलएनभी पुनः सहयोग गर्न तयार रहेको छ । उहाँका अनुसार डिसेम्बर २०२२ सम्म एसएनभीले विश्वका २७ वटा देशमा त्यहाँका सरकार, साझेदार संस्थाहरु र निजी क्षेत्रसँग मिलेर १० लाखभन्दा बढी बायोग्यास जडान गरिसकेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल राष्ट्रिय निर्धारित योगदानमा घरायसी र ठूला प्रविधिका बायोग्यास प्रविधिको प्रवद्र्धनमा जोड दिएको उल्लेख गर्दै अझै केही वर्षसम्म सबै घरमा एकैचोटि विद्युत्मा खाना पकाउने अवस्था सुनिश्चित गर्न नसकिने भएकाले बायोग्यास र सुधारिएको चुलोजस्ता प्रविधिमा जानुको विकल्प नरहेको स्पष्ट पारे ।

नेपाल बायोग्यास प्रवद्र्धन समूहका अध्यक्ष प्रकाशचन्द्र सुवेदी नेपालमा अझै पाँच लाख घरायसी बायोग्यास प्लान्ट जडान गर्न सकिने सम्भावना रहेकाले राज्यले किसानलाई सहुलियत र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिन्छन् । नेपालमा बायोग्यासबाट कार्बन व्यापार सुरु भएको उल्लेख गर्दै उनी बायोग्यास हरित ऊर्जाको स्रोत भएकाले जलवायु परिवर्तनको समस्या न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्नमा पनि यस प्रविधिको विकास र विस्तार गर्नुपर्ने खाँचो औँल्याउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?