छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

लोकपथ
49
Shares

काठमाडौं ।  छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ  । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित नेपालटारबाट गाईघाट तर्फ जाँदै गरेको प्र १–०५–००१ ख ००४४ नम्बरको अन्नपूर्ण बोर्डिङ स्कुलको बस आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा बसका चालक समेत ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक त्रियुगा नगरपालिका–६ बस्ने ४० वर्षीय भिखन चौधरी, बसमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय विकाश चौधरी र ७ वर्षीया कुमारी चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको, १२ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएकोप्रहरीले जनाएको  छ । भने २७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी उदयपुरको बेलका नगरपालिका–८ एल।के।खोजस्थित सडकमा प्रदेश नं।१–०५००१ प ०८३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका–४ गुरुङचौरी बस्ने ३२ वर्षीय हरिशंकर घिमिरेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रिफर गरिएका प्रहरीले जनाएको छ ।

सप्तरीको खडक नगरपालिका–१० ईनर्वा फुलबरियामा हाल नम्बर मेटिएको ट्याक्टरको धान दाउने मेसिन खेतको आलीमा चढ्ने क्रममा धान दाउने मेसिन पल्टिएर शनिबार दिउँसो दुर्घटना हुँदा बोदेबर्साईन नगरपालिका–५ जाजर बस्ने ३५ वर्षीय जितेन्द्र रामको मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ सातकुलेमा सग्रामबाट सातकुलेतर्फ जाँदै गरेको लु।३ त ९६६६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका हेल्पर सोही उपमहानगरपालिका–१९ बस्ने १८ वर्षीय बिराज बिकको मृत्यु भएको छ दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोल्पाको ठुलिभेरी नगरपालिका–९ मोतिपुरमा त्रिपुराकोटबाट दुनैतर्फ जाँदै गरेको लु।२ च ५९१५ नम्बरको मकै लोड भएको ट्याक्टरको ट्रलीमा च्यापिएर चालक रूकुम पश्चिम आठबिसकोट नगरपालिका–९ राडी बस्ने २७ वर्षीय लक्की थापाको शनिबार राति मृत्यु भएको छ । च्यापिएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुनैमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको आदर्शकोतवाल गाउँपालिका–१ जमुनी खोलामा बरियारपुरबाट लङ्गडा चोकतर्फ जाँदै गरेको ना।५ त ५३२७ नम्बरको उखु लोड गरेको ट्याक्टरबाट लडेर जितपुर सिमरा उपमहानगरपालिका–१८ मनहरवा बस्ने ४५ वर्षीय जयनारायण पण्डितको शनिबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर सोही ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएकोे छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?