ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब, कुनको कति ? (सूचीसहित)

लोकपथ
507
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक निक्षेप संकलन, कर्जा प्रवाह, खुद मुनाफा, शाखा सञ्जाल सबैका दृष्टिकोणले नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा ग्लोबल आईएमई बैंक एक्लैको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैंयाँ पुगिसकेको छ । यो अवस्थामा सोही प्रकृतिको एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र स्टान्र्डड चार्टड बैंकको चुक्ता पुँजी भने १० अर्ब रुपैयाँमा सिमित रहेको छ ।

चुक्ता पुँजी कम हुँदा अन्य वाणिज्य बैंकहरुलाई पुँजी वृद्धि गर्न निरन्तर दबाब दिने गरेको नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको दृष्टिकोणले यी तीन वटा बैंकलाई भने काखमा राखेर अन्यलाई पाखा राखेको प्रष्ट देखिएको छ । बिदेशी साझेदार रहेको वाणिज्य बैंकहरुलाई पोस्ने र नेपाली बैकहरुलाई ठोक्ने राष्ट्र बैंकको विभेदकारी नीति वाणिज्य बैंकहरु मध्येमा सबै भन्दा कमजोर चुक्ता पुँजी भएको स्टान्र्डड चार्टड बैंकलाई पुँजी वृद्धिको लागि दबाब दिन नसक्नुले पनि प्रष्ट पारेको छ ।

हालको अवस्थामा स्टान्डर्ड चार्टड बैंकको चुक्ता पुँजी नौं अर्ब ४२ करोड ९४ लाख ९४ हजार रुपैंयाँ मात्र रहेको छ । यो चुक्ता पुँजी भनेको राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि तोकेको न्युनतम चुक्ता पुँजी भन्दा थोरै मात्र बढी हो । स्टान्र्डड चार्टड बैंक नेपालमा बहुराष्ट्रिय समुह स्टान्र्डड चार्टड समुहको लगानी रहेको छ । राष्ट्र बैंकले अन्य बाँणिज्य बैंकहरुलाई सामान्य कैफियतमा दण्ड जरिवाना गर्ने लगायतका कारवाही गर्ने गरेता पनि स्टान्र्डड चार्टड बैंकलाई कुनै पनि कैफियतमा कारवाही गर्ने बिषयमा राष्ट्र संधैं मौन बस्ने गरेको छ ।

भारतको स्टेट बैंक समेतको प्रमुख लगानी रहेको नेपाल एसबिआई बैंकको चुक्ता पुँजी पनि आजको दिनमा १० अर्ब १२ करोड रुपैयाँको हाराहारीमा रहेको छ । पुँजी वृद्धि एवं अन्यको लागि यो बैंकलाई पनि राष्ट्र बैंकले आजको दिनसम्म कुनै पनि किसिमको कारवाही गर्न सकेको छैंन । यसैगरी भारतको पञ्जाव नेशनल बैंक समेतको प्रमुख साझेदारी रहेको एभरेष्ट बैंकको चुक्ता पुँजी पनि आजको दिनमा १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

विदेशी लगानीको बैंक भएकै कारण यो बैंकलाई राष्ट्र बैंकले सबैजसो नीतिगत कुरामा छुट दिँदै आएको छ । यदि यस्तो हुने थिएन भने यि तीन वटा बैंकहरुको चुक्ता पुँजी अन्य वाणिज्य बैंकहरुकै हाराहारीमा पुग्ने थियो ।

सञ्चालनमा रहेका २० मध्ये तीन वटा वाणिज्य बैंकको चुक्ता पुँजी १० अर्बको हाराहारीमा रहँदा अन्य बैंकहरुको चुक्ता पुँजी भने ति बैकहरुको तुलनामा तीन गुणा बढी सम्म देखिएको छ । जसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब पाँच करोड रुपैयाँ रहेको छ । यसैगरी कुमारी, प्रभु, हिमालयन र लक्ष्मी सनराईज बैंकको चुक्ता पुँजी पनि क्रमशः २६ अर्ब २२ करोड, २३ अर्ब ५४ करोड, २१ अर्ब ६५ करोड र २१ अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्राईम, कृषि विकास र एनएमबी बैंकको चुक्ता पुँजी भने क्रमशः १९ अर्ब ४० करोड, १८ अर्ब ८८ करोड र १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, नेपाल बैंक र सानिमा बैंकको चुक्ता पुँजी पनि क्रमशः १५ अर्ब ५३ करोड, १४ अर्ब ९१ करोड, १४ अर्ब ६९ करोड र १४ अर्ब ४६ करोड रुपैंयाँ रहेको छ । यि बाहेक सिटिजन्स बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक र माछापुच्छे« बैंकको चुक्ता पुँजी भने क्रमशः १४ अर्ब २० करोड १४ अर्ब आठ करोड र ११ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?