काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ताका लागि निवेदन परेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई शुक्रबार सरकारले नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए ।
तर प्रसाईं बाहिर सार्वजनिक रुपमा बाहिर निस्किएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले नै रिट निवेदन फिर्ता लिन निवेदन दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए ।
‘उहाँ (वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी) जसले रिट निवेदन दिनुभएको थियो उहाँले नै त्यसको औचित्य सकिएको भन्दै रिट फिर्ता लिन निवेदन दिनुभएको छ ।’ उनले भने ।
उक्त मुद्दाको आजका लागि पेशी समेत तोकिएको थियो । सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।
पेशी तोकिसकेको अवस्थामा पनि मुद्दा फिर्ता लिन मिल्छ भन्ने प्रश्नमा सर्वोच्चका सूचना अधिकारी घिमिरेले भने, ‘रिट निवेदककर्ता पक्षले मुद्दा फिर्ता लिन चाहेको अवस्थामा फिर्ता लिन सकिने कानुनी व्यवस्था रहेको छ । तर सर्वोच्चले मुद्दा स्थगित वा फिर्ता भन्ने सूचना निकाल्नेछ ।’
बिहीबारबाट प्रसाईंको नेतृत्वमा काठमाडौंमा आन्दोलन सुरु भएको थियो । शुक्रबार आन्दोलनको घोषणा भए पनि प्रशासनले रोक लगाएपछि आन्दोलन हुन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया