विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने, ‘नेपाल ‘भर्जिन ल्याण्ड’ हो, ढुक्क भएर लगानी लिएर आउनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी लिएर आउन आग्रह गरेका छन् । 

काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आज (शुक्रवार)देखि दुईदिन चल्ने लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट –२०१९)लाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

उनले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको भन्दै कुनै पनि दुविधा  नपरी लगानी लिएर नेपाल आउन विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् । 

‘नेपाल लगानीका लागि भर्जिन ल्याण्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ, जलविद्युतमा उच्च सम्भावना छ, पर्यटन, पूर्वाधार, सूचना, प्रविधि, उद्योग, खानीलगायत क्षेत्रमा प्रशस्त सम्भावना छ’ प्रधानमन्त्री ओलीले भने । 

सागै नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएको छ । लगानीका लागि निकै राम्रो वातावरण बनेको उनले बताए ।  

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ । 

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । 

सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ । 

सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?