काठमाडौं । २६÷११ मुम्बई हमलाको १५ औं वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिए । उनले पाकिस्तानसँग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न मागसँगै हिन्दूहरूको सहयोगी बन्न पनि आह्वान समेत गरेका छन् ।
यादवले २६÷११ को मुम्बई हमलाले हामीलाई आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताए। उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए ।
राष्ट्रिय एकता अभियानका समर्थकहरूले पनि पाकिस्तानविरुद्ध एकमतको भावना व्यक्त गरेका छन् र आतंकवादलाई समर्थन गर्नु अपराध हो जुन विश्वका लागि खतरा भएको बताएका छन्। यससँगै अभियानद्वारा हिन्दु समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने समेत आव्हान गरिएको छ ।
उक्त प्रदर्शनमा सहभागीहरुले आतंकवाद र मानवअधिकार उल्लङ्घनका विरुद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाएका छन् । यस प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको छ र मानिसहरूलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रेरित गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया