काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवाको मूलधारका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छन् ।शनिबार काठमाडौंमा सुरु अन्तर्राट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
विद्यालयदेखि नै पाठ्यक्रममा आयुर्वेदको प्रयोगलाई व्यवस्थित गरी पठनपाठन जरुरी रहेको भन्दै उनले अध्ययन र अनुसन्धानलाई व्यापक बनाएर आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवाको मूलधारको रुपमा स्थापित गर्न आवश्यक रहेको मन्त्री शर्माले बताइन् ।
उनले भनिन्, ‘विद्यालयदेखि नै पाठ्यक्रममा राखेर आयुर्वेदको परिचय मात्र होइन यसको प्रयोगलाई पनि व्यवस्थित गर्र्ने गरी पठनपाठन जरुरी छ । यसको अध्ययन र अनुसन्धानलाई व्यापक बनाउँदै आयुर्वेद चिकित्सा सेवालाई मूलधारको स्वास्थ्य सेवाको रुपमा स्थापित गरिनुपर्छ ।’
उनले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले नीति निर्माण र आवश्यक स्रोत साधनको उपलब्धतामा सहयोग गर्ने प्रतिवद्धता जनाइन् । कार्यान्वयनको सन्दर्भमा भने प्राविधिक जनशक्तिले योगदान गर्नुपर्ने उनको भनाई छ ।
उनले भनिन्, ‘यसलाई नेपाली सेवाको जीवनशैली बनाउन आवश्यक छ । आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले नीतिनिर्माण र आवश्यक स्रोत साधनको उपलब्धतामा सहयोग गर्ने हो । कार्यान्वयनको सन्दर्भमा प्राविधिक जनशक्तिले नै योगदान गर्नुपर्छ ।’
आयुर्वेदिक, युनानी, अकुपञ्चर र प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति नेपाल सरकाले लिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया