करेक्सनको बाटोमा सेयर बजार, सातामा झण्डै पाँच अर्बको सेयर किनबेच

लोकपथ
91
Shares

काठमाडौं । सेयर बजार करेक्सनको बाटोतर्फ उन्मुख भएको देखिएको छ । सरकारले यसै साता अर्थतन्त्र सुधारको लागि बृहत गोलमेच सम्मेलन गरी अर्थतन्त्रमा देखिएको समस्याहरुको पहिचान गरेको छ भने सुधारको लागि ठोस कार्यक्रम ल्याउने उद्घोष समेत गरेको छ । अर्कोतर्फ बैंकहरुले मंसिरको लागि कर्जाको व्याज पनि घटाएका छन् भने राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

अर्थमन्त्रालयको अर्थतन्त्रमा सुधार ल्याउन मौद्रिक नीतिमा भएका कतिपय नीतिगत कठिनाईहरुलाई खुकुलो बनाउँन बारंबार दिदैं आएको दबाब र यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत अर्थतन्त्र सुधारको लागि नेपाल राष्ट्र बैंक लचिलो हुनुपर्ने बताउँदै आएका छन् । यि सबै कुुराको सकारात्मक प्रभाव यो साता सेयर बजारमा परेको छ ।

यो साता नियमित कारोबारको लागि चार दिन मात्र नेप्से खुल्ला रहेकोमा तीन दिन लगातार बढेको नेप्से एक दिन मात्र घटेको थियो । पहिलो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । सो अनुसार नेप्से यो साता १८ सय ६० दशमलव २० बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५६ दशमलव ९८ बिन्दुमा कायम रहन सफल भएको छ । कुल दुुई सय ९४ वटा कम्पनीहरुको सातामा एक लाख ७४ हजार चार सय १० पटकको कारोबारमा एक करोड ५६ लाख २८ हजार चार ६२ कित्ता शेयर खरिद–बिक्री भएका छन् । जसबाट यो साता कुल कारोबार रकम चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताकै बराबरको हो ।

गत साता दुुई सय ९९ वटा कम्पनीहरुको एक लाख ८५ हजार तीन सय ६२ पटकको कारोबारमा एक करोड ७४ लाख ३६ हजार दुई ४६ कित्ता शेयर खरिद–बिक्री भएका थिए । जसबाट उक्त साता चार अर्ब ५२ करोड ६६ लाख ३१ हजार पाँच सय ३२ रुपैंयाँको सेयर किनबेच किनबेच हुन पुगेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता दोस्रो दिन एक दशमलव ३९ अंकले बढेर १८ सय ५३ दशमलव ४८ अंकमा पुगेको नेप्से तेस्रो दिन २३ दशमलव ८२ अंकले घटेर १८ सय २९ दशमलव ६५ अंकमा खुम्चिएको थियो । चौंथो भने दिन २० दशमलव ६७ अंकले बढेर १८ सय ५० दशमलव ३३ अंकमा चढ्न सफल भएको नेप्से पाँचौं दिन पुन नौं दशमलव ८७ अंकले बढेर १८ सय ६० दशमलव २० बिन्दुमा कायम रहन सफल भएको थियो । यसैगरी दोस्रो दिन शुन्य दशमलव पाँच अंकले घटेर तीन सय ५६ दशमलव ५४ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन चार दशमलव ४८ अंकले घटेर तीन सय ५२ दशमलव शुन्य पाँच अंकमा झरेको थियो । चौंथो दिन दुई दशमलव १५ अंकले बढेर तीन सय ५४ दशमलव २१ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पुन दुई दशमलव ७६ अंकले बढेर तीन सय ५६ दशमलव ९८ अंकमा कायम रहेको थियो ।

यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?