हस्तलिखित पत्र यसरी बन्यो बिजनेसको टर्निङ प्वाइन्ट

जब एलेक्जेन्डर रिन्केले आफ्नो सानो स्टार्ट अप बिजनेसमा ठूला कम्पनीहरुले लगानी गरुन् भन्ने चाहे तब उनलाई आफ्ना कुरा ती कम्पनीसम्म पु-याउने सबैभन्दा उपयुक्त माध्यम लाग्यो, ‘हस्तलिखित पत्र’। इन्टरनेटको जमानामा सजिलो र छिटो तरिकाले सन्देश पठाउनुको साटो उनले झन्झटिलो र बढी समय खर्चिनुपर्ने उपाय रोजे किनकी उनलाई लगानीकर्ताको ध्यानाकर्षण गर्नु थियो । 

‘यदि हामीले इमेल मार्फत् पठाएको भए त्यो डिलिट हुने थियो उनले भने, ‘टाइप गरेको पत्र पठाएको भए सचिवहरुले त्यसलाई हेरेर डस्टबिनमा फ्यालिदिन्थे शायद ।’ 

यद्यपि, हस्तलिखित पत्र प्राय व्यक्तिगत प्रयोजनकै लागि पठाइने र कोही आफन्त वा साथीभाइबाट आउने भएकाले लगानीकर्ताहरुले यसलाई पढ्ने सम्भावना भएको बुझेर आफूले यस्तो उपाय अपनाएको उनले सुनाए । नभन्दै उनको यो जुक्तिले काम ग-यो । र, अहिले एलेक्जेन्डर र उनका दुई साथी मार्टिन लेन्क र बास्टियन नोमिनेचरको संयुक्त प्रयासमा स्थापना गरिएको ‘सेलोनिस’ कम्पनीले विश्वमा आफ्नो सेवा प्रदान गरिरहेको छ ।

टेक्निकल यूनिभर्सिटी अफ म्युनिचबाट गणित र कम्प्युटर साइन्समा डिग्री सकेपछि २२ वर्षीया एलेक्जेन्डरले सन् २०११ मा आफ्ना दुई साथी मार्टिन लेन्क र बास्टियन नोमिनेचरसँग मिलेर ‘सेलोनिस’ शुरु गरे । यो एउटा यस्तो हाइ टेक डाटा माइनिङ कम्पनी हो जसले सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले बिजनेसको निगरानी गर्ने र यसलाई थप प्रभावकारी ढङ्गले अघि बढाउने काम गरिरहेको छ । ‘सेलोनिस’ एलेक्जेन्डर र उनका साथीहरुले कलेजमा शुरु गरेको एउटा सानो मोडलको वृहत स्वरुप हो ।

समग्रमा भन्दा सेलोनिसको सफ्टवेयरले कम्पनीको कम्प्युटर सिस्टमको निगरानी गर्ने, कुन कर्मचारीले सही तरिकाले काम गरिरहेको छैन, कुन वितरक सुस्त गतिमा काम गरिरहेको छ, कुन उत्पादन प्रक्रियालाई सुव्यवस्थित गर्न जरुरी छ भनेर समस्या पहिचान गर्ने र यस्ता समस्याहरुको समाधान गर्ने गर्दछ । 

आफ्नो बिजनेस मोडल सफल हुने कुरामा एलेक्जेन्डर, मार्टिन र ब्यास्टिन विश्वस्त थिए । तर जबसम्म यसको उपयोगिताका बारेमा कसैलाई थाहा हुँदैन तबसम्म आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सफल हुन सम्भव छैन भन्ने कुरा पनि उनीहरुले राम्रोसँग बुझेका थिए । त्यसैले लगानीकर्ताहरुको ध्यानाकर्षण गर्न उनीहरुले केही भिन्न माध्यम अपनाए । त्यो हो, हस्तलिखित पत्र । उनीहरुले हस्तलिखित पत्र मार्फत् विभिन्न कम्पनीहरुलाई आफ्नो बिजनेस मोडलका बारेमा लेखेर पठाए । नभन्दै यूरोपका ठूल्ठूला कम्पनीहरुले ती पत्रको प्रतिक्रिया दिन भ्याए । मिटिङ फिक्स भयो । यसो भएको ८ वर्ष पश्चात् अर्थात् अहिले बिएमडब्लु, जनरल मोटर्स, एक्जोन मोबाइल, लोरियल, साइमेन्स, उबर र भोडाफोन जस्ता बहुराष्ट्रिय कम्पनी ‘सेलोनिस’का ग्राहक हुन् । 

‘पछिल्लो वर्ष ५० मिलियन डलर्स थप लगानी भएपछि अहिले हाम्रो मार्केट भ्यालु १ बिलियन डलर्स भएको छ,’ एलेक्जेन्डर भन्छन् ।

जर्मनीको बर्लिनमा जन्मिएका एलेक्जेन्डेर आफूलाई बिजनेसमा सानैदेखि रुचि भएको बताउँछन् । त्यसैको नतिजा हुनुपर्छ उनले १५ वर्षको हुँदा आफ्नो पहिलो बिजनेस शुरु गरेका थिए ; ट्युटर वितरण गर्ने । 

‘सानै उमेरमा आफ्नै बिज्नेस शुरु गर्दा निकै गौरवान्वित महसुस भएको थियो,’ उनले भने, ‘तर, यो दीर्घकालीन होइन भन्ने पनि थहा थियो मलाई ।’

सन् २०११ को शुरुवातमा आफ्नो पढाइ अन्तर्गत जब एलेक्जेन्डर र उनका साथीहरु ग्राहक सेवालाई उजागर गर्दै विश्व व्यापारको स्तरोन्नतिमा मद्दत पु-याउने किसिमको प्रोजेक्ट तयार गर्ने सोचमा थिए त्यहीवेला ‘सेलोनिस’को अवधारणा एलेक्जेन्डरको मस्तिष्कमा जन्मियो ।

अधिकांश कम्पनीमा आइपर्ने समस्याहरु सुल्झाउन कम्तीमा ५,६ दिन लाग्ने र कर्मचारीहरुसँग समस्याका कारणका बारेमा छलफल गर्दा सबैजना गल्तीबाट पन्छिन चाहने भएकाले त्यसताका ठूल्ठूला कम्पनीहरुलाई निकै सास्ती भएको एलेक्जेन्डर बताउँछन् । ‘मानिसको संलग्नता भएपछि त्यहाँ राजनीति स्वत तानिदो रहेछ,’ उनले अगाडि थपे, ‘त्यसैले हामीले कम्पनीका समस्यालाई कम्प्युटर एनलाइसिस मार्फत् पत्ता लगाउने उपाय खोज्न थाल्यौं ।’  त्यही क्रममा उनीहरुले ‘सेलोनिस’ स्थापना गरे । 

मार्टिन र ब्यास्टिन सफ्टवेयरलाई निखार्न र संस्थालाई व्यवस्थित बनाउने काममा जुट्थे भने एलेक्जेन्डेर हरेक दिन जर्मन र अस्ट्रियाका विभिन्न ठाउँमा सम्भावित ग्राहकको खोजीमा दौडन्थे । तीमध्ये केही ग्राहक तिनै हुन् जसलाई उनीहरुले हस्तलिखित पत्र पठाएका थिए ।

‘सेलोनिस’ बिजनेस दुनियाँमा यति चाँडै लोकप्रिय भयो कि स्थापना भएको १ वर्षभित्रमै उनीहरुले अमेरिकास्थित क्यालिफोर्नियाको पालो अल्टोमा आफ्नो कार्यालय स्थापना गरे ।

बिजनेसले हाइप पाइरहेको भएपनि कतिपय अवस्थामा गलत कर्मचारीहरु चुनेकाले आफूहरु पछुताउनु परेको एलेक्जेन्डर सुनाउँछन् । ‘एउटा संस्था सफल हुन सबैभन्दा महत्वपूर्ण तत्व राम्रो टिम रहेछ,’ २९ वर्षीय एलेक्जेन्डर भन्छन्, ‘बायोडाटाको आधारमा मात्रै होइन व्यक्तिको व्यक्तित्व र व्यवहारका आधारमा पनि कर्मचारी छनोट गर्नुपर्ने कुरा हामीले सिक्यौं ।’

आज सेलोनिसमा ४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । विश्वका हजारौं कम्पनीहरुले यसको सुविधा प्रयोग गरिरहेका छन् । त्यस्तै यसको वार्षिक आम्दानी ७० मिलियन डलर्सभन्दा बढी छ ।

विश्वकै ठूला कम्पनीका रुपमा गनिने भोडाफोन र साइमेनका अधिकारीहरु खुलेर सेलोनिसको तारिफ गर्छन् । ‘सेलोनिस बिजनेसको एक्स रे मेसिन जस्तै भएको छ,’ सन्तुष्ट भावमा उनीहरु भन्छन्, ‘सूक्ष्म अनुसन्धान गरेर सानो भन्दा सानो समस्या र त्यसको समाधान पहिल्याउँछ ।’

एलेक्जेन्डर र उनका साथी÷बिज्नेस पार्टनरले आगामी दिनमा जापान लगायत अन्य देशमा आफ्नो व्यापार विस्तार गर्ने योजना बनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?