काठमाडौं । राष्ट्र, राष्ट्रिय, धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानमा होमिएका दुर्गा प्रसाईँलाई नजरबन्द नगरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले प्रसाईँलाई सुरक्षासहित निगरानीमा राखेको बताएकी छिन् ।
‘उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँहरुका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौँ, यो स्थान हद वा नजरबन्द केही होइन ।’ उनले भनिन् ।
‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले उहाँलाई कार्यक्रम गर्न दिने स्थान तोकिदिएमा त्यस स्थानसम्म जान दिन हामी तयार छौँ । तर कार्यक्रम कहाँ गर्ने भनेर अनुमति नभई सडक नै अस्तव्यस्त र भद्रगोल पार्ने गरी आन्दोलन भन्ने कुरा हुँदैन । काठमाडौंबाट कार्यक्रम गर्ने स्थानको अनुमति भएपछि हामी उहाँलाई जान दिन्छौँ । अहिले सुरक्षा दिएर निगरानीमा राख्नुको कारण उहाँकै सुरक्षाका लागि हो ।’ उनले थपिन् ।
बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वमा उक्त अभियानले बल्खुमा आन्दोलन गरेको थियो । बिहीबार साझ पत्रकार सम्मेलन गर्दै प्रसाईले पत्रकार सम्मेलन गर्दै आजबाट तीनकुनेमा आन्दोलन गर्ने घोषणा गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कुनै पनि समूहको प्रदर्शन नहुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया