तीनकुनेमा आन्दोलन गर्ने दुर्गा प्रसाई नेतृत्वको तयारी, प्रशासनले भन्यो–‘अनुमति छैन’

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रिय, धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौंको तीनकुनेमा गर्न लागेको प्रदर्शन काठमाडौं प्रशासनले रोक लगाएको छ ।

बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वमा उक्त अभियानले बल्खुमा आन्दोलन गरेको थियो । बिहीबार साझ पत्रकार सम्मेलन गर्दै प्रसाईले पत्रकार सम्मेलन गर्दै आजबाट तीनकुनेमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।

तर जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कुनै पनि समूहको प्रदर्शन नहुने जनाएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा पत्रकार सम्मेलनमार्फत् उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र शक्तिकेन्द्रित र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भोलिदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने सार्वजनिक सम्पतीमा क्षती पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यलयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रशासनले बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन ।’

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रद्दत अधिकारमा प्रशासन प्रतिवद्ध हुने बताउँदै सम्बन्धित पक्षले समन्वय गर्न आएमा आगामी दिनमा कार्यक्रम गर्न दिने समेत प्रशासनले जनाएको छ ।

वैदिन सनातनी धर्मसहित राजतन्त्र स्थापनाको नारासहित प्रसाईको नेतृत्वमा आन्दोलन भइरहेको छ ।

बिहीबार खल्खुमा शान्तिपूर्ण आन्दोलन हुने भनिए पनि आन्दोलनकारीले प्रहरीको सुरक्षाघेरा तोड्न खोजेपछि दुई पक्षबीच हानाहानको स्थिती सिर्जना समेत भएको थियो ।

यता राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानका सहप्रवक्ता राजानन्द माडव्यले पूर्व निर्धारित रुपमा आफूहरुले तीनकुनेमा नै आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।

‘काठमाडौं सिडियोले तिनकुनेमा जन प्रदर्शन गर्न दिदैनौ भने! कुनै एउटा दललाई दिने हामिलाई नदिने यो न्यायपूर्ण भएन । आजको लडाई ठाउँको लागि हुनेछ ।’ उनले भनेका छन् ।

त्यसो त बिहीबार नै एमाले निकट युवा संघले पनि तीनकुनेमा प्रदर्शन गरेको थियो ।

प्रसाई नेतृत्वले आन्दोलन गर्ने पूर्व घोषणा गरेपछि तीनकुनेमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । भने प्रसाईको निवास सानोठिमीमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?