प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई २ वर्ष कैद र पीडितलाई २८ लाख क्षतिपूर्ति भराउने फैसला

लोकपथ
525
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपीट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले कुटपीटमा संलग्न र कुटपीट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।

२०७७ कात्तिक २० गते काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपीट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो । घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपीटमा संलग्नहरु रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम बहादुर चलाउनेलाई उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५५३ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

साथै प्रतिवादीहरुलाई जनही २० हजार रुपैयाँ जरिवानाको फैसलासमेत भएको छ । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने अदालतले सफाई दिएको छ ।

प्रेम बहादुर चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो । तर काठमाडौं जिल्ला अदालतले भने आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योग भन्दा पनि शरीर अङ्गभङ्ग गराउने उद्धेश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ मा अङ्गभङ्ग गर्न नहुने सम्बनधी व्यवस्था छ । उक्त दफाको उपदफा १ अनुसार अङ्गभङ्ग गराएमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

सोही दफाको उपदफा ५ मा अङ्गभङ्ग भएको खत वा घाउ निको भई काम लाग्ने भएमा तीन वर्षसम्मको कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

उपप्राध्यापक चलाउनेको गोडा भाँचिई हाल जोडिएकाले कुटपिट अङ्गभङ्गमा संलग्नहरुलाई तीन वर्षसम्म कैद सजाय हुन सक्नेमा न्यायाधीश विनोदकुमार खतिवडाले प्रतिवादीहरुलाई २ वर्षको कैद र जनही २० हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । साथै उपचारमा लागेको खर्च समेत प्रतिवादीहरुबाट भराउने फैसला गरेका हुन् ।

घटनामा संलग्नमध्ये प्रमुख योजनाकार भनिएका हरि आचार्य भने यतिबेला अमेरिकामा छन् । अन्य आरोपितमध्ये सयुज श्रेष्ठ एक महिनादेखि पुर्पक्षमा रहेको भएपनि अन्य अभियुक्तहरु भने धरौटी राखेर थुनामुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?