धमाधम पक्राउ पर्दै विप्लवका कार्यकर्ता: को कहाँबाट पक्राउ परे ? (विवरणसहित )

गत फागुन २४ गते ‘छुट्टै मधेस’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउत र सरकारवीच ११ बुँदे राजनीतिक सहमति भयो । 

उक्त सहमतिलाई सिके राउत र नेपाल कम्यिुष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासीक सहमति भनिरहँदा आमजनमानसमा भने सो सम्झौता शंंकास्पद नै थियो ।

पृथकतावादी सोचका डा. सिके राउत मुलधार राजनीतिमा कसरी आए ?

११ बुँदे राजनीतिक सहमति बाहिरका सहमतिहरु के के हुन् ? 

सरकारको रणनीति के हो ? 

केहीले खुलेर सहमतिको विरोध गरे । धेरैले सरकारको काम सरकारले नै जानुन् भनेर चुप रहे । 

सरकारप्रति सबैको जिज्ञासु स्वभाव जायज पनि थियो, फागुन २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएकोमा त्यसको एकदिन पछि भएको सहमति सहजै पाचन हुन सकेको थिएन । 

राउत र सरकारकावीच सम्पन्न सहमतिका सम्बन्धमा आशंका हुनु  अस्वभाविक पनि होइन । एक दिनअघि अदालतबाट सफाइ पाएका राउतले भोलिपल्ट प्रधानमन्त्रीसहितसँग वार्ता गर्दै मूलधारको राजनीतिमा आउने प्रतिज्ञा गर्नुले राउतलाई मूलधारमा ल्याउन राज्यका तर्फबाट लामो गृहकार्य भएको देखाउँछ । यद्यपि, सतही कुरालाई मात्र बुझ्नेका लागि यो आकस्मिक झैं भएर बाहिर आएको छ ।

फागुन २२ गते टिकापुर घटनाका मुख्य अभीयुक्त रेशम चौधरीलाई टिकापुर जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनायो । जिल्ला न्यायाधिस परशुराम भट्टराइको इजलासले रेशम चौधरी र अर्का अभियुक्त लक्ष्मण थारु सहित ११ जनालाई दोषी ठहर ग¥यो । कैलाकीको टिकापुरमा थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ मा नेपाल प्रहरीका एसएसपी सहित ८ जनाको हत्या प्रकरणका मुख्य अभियुक्त उनले जेलबाटै चुनाव लडेका थिए । 

राजनीतिक सहमतिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सीके राउतको खुलेर प्रशंसा गरेका थिए भने नेत्रबिक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादी हाल (प्रतिबन्धित नेकपा माओवादी)लाई नाम लुटेरा समुह राख्न पनि आग्रह गरेका थिए । 

देशको अभिभावकत्व निर्वाह गरिरहेका प्रधानमन्त्रीले त्यस्ता किसीमको अभिव्यक्ति दिन नमिल्ने भन्दै पनि बहस चल्यो । 

प्रधानमन्त्री ओलीले ‘विप्लव’ नेतृत्वको नेकपालाई लुटेरा समूहको संज्ञा दिएकै दिन साँझ काठमाडौंमा एक म्यानपावर व्यवसायीको घरमा विष्फोट भयो । घटना विप्लव नेतृत्वकै नेकपाले गरेको निष्कर्ष सुरक्षा निकायले निकाल्यो । 

फागुन २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय ग¥यो । 

राज्यले वार्तामा बोलाउँदा समेत विप्लब समुह नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा बताएका थिए । 
एकथरिले राजनीतिक पार्टीमाथिको प्रतिबन्ध लोकतान्त्रिक अभ्यास नभएको टिप्पणी गरे भने अर्काथरिले सरकारले आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि चालेको कदम स्वागत योग्य भएको प्रतिक्रिया दिए । 

नेपालको राजनीतिक दिशा अब कतातिर मोडिएला त ?

सरकारले प्रतिवन्ध लगाउने निर्णय गरेपछि अब विप्लव समूह के गर्छ ?

सबैमा प्रश्न उठेको थियो । विप्लव समूहले नै केही घटना घटाउने हो कि भन्ने पनि डर थियो तर त्यस्तो भएन । सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु ग¥यो । शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम कसैबाट हुन नदिन प्रहरीले निगरानी बढाएको छ । 

सरकारले सबै तहको सुरक्षा निकाय परिचालन गरेर विप्लवका कार्यकर्ता पक्राउ गरिरहेको छ । 

चैत १३ गते बुधवार । जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ ।

चैत १३ गते बुधवार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेता पक्राउ परे । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् । 

चैत १३ गते बुधवार । मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्ज्वल’ पक्राउ परे । माओवादी जनयुद्धको क्रममा लडाकु रहेका प्रज्ज्वल शान्ति प्रक्रियापछि काठमाडौं आएका थिए । काठमाडौं आएका प्रज्ज्वल मिर्मिरे एफएमको समाचार शाखा प्रमुख समेत रहेका थिए । तर, पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए ।
प्रहरीले मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’का साथै कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई समेत पक्राउ गरेको थियो । 

चैत १२ गते मंगलवार । पोखरा २७ रिठेपानीबाट विप्लव समूहको तमुवान जनपरिषद् संयोजक किसानसिंह गुरुङलाई पक्राउ परे । तनहुँ व्यास ६ का अखिल नेपाल क्रान्तिकारी लतमुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर ५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ ग¥यो । 
यस्तै, पूर्वी नवलपरासीबाट विप्लव समूहका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दनिया पनि पक्राउ परे ।  

यस्तै, चन्द समूहका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य, भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राई र साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सञ्जय र महेन्द्र चन्द समूहका जिल्ला सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हुन् । 

चैत १२ गते मंगलवार । सुदूरपश्चिम प्रदेशको अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भयो । 
रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको थियो । यद्यपी दुबै पक्षमा कुनै क्षति भएन । तर विप्लवका ४ कार्यकर्ता पक्राउ गरे । अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी पक्राउ परेका हुन् ।   

चैत १२ गते मंगलवार । सल्यानमा चार जना जिल्लास्तरीय नेताहरुलाई पक्राउ परे । अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष भीमबहादुर ओली, सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सचिव खुमलाल केसीलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । 

चैत ११ गते सोमवार । सप्तरीमा चन्द समूहका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादवलाई पक्राउ परेका छन् भने इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई समेत प्रहरीले पक्राउ ग¥यो । पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङ, संखुवासभाको पाँचखाल नगर कमिटी इञ्चाज भीम राई र सुनसरीको इटहरी हलगडाबाट चन्द समूहका कार्यकर्ता रमेश खड्का समेत पक्राउ परेका छन् । 

चैत ११ गते सोमवार । कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ पक्राउ परे । 

चैत ९ गते शनिवार । नेकपा हेडक्वारर्टरका तेस्रो वरियताका प्रभावशाली नेता हेमन्त प्रकाश वली पक्राउ परे । उनलाई महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति पक्राउ गरेको थियो उनीसहित  रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक,  विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की,  देव घिमिरे र लोकेन्द्र खडका पनि पक्राउ परे । 

चैत ०७ गते विहिवार । कालिकोटका मजदुर संगठनका इञ्चार्ज भरत शाही र  कर्णबहादुर विक पक्राउ परे ।  ‘ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमाथि बम विष्फोट भएकै दिन कालिकोटमा रहेको एनसेल टावरमा आगजनी भएको थियो । आक्रमणमा संलग्न भएको देखिएपछि दुई नेता शाही र कर्णबहादुर विक पक्राउ परेका हुन् । 

चैत ०६ गते बुधवार । काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार  जना पक्राउ परे । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको थियो । घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको छ । 

चैत ०६ गते बुधवार । कपिलवस्तुबाट जिल्लास्तरका ४ नेताहरु पक्राउ परे । जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यामदास पासी र राजमङ्गल थारू पक्राउ परेका हुन् । यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका थिए ।  

चैत ०५ गते मंगलवार । विप्लव समूहका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलाएका थियो ।  महानगरीय अपराध महाशाखाको टोलीले विप्लवका कार्यकर्तामाथि मंगलबार राती काभ्रेको रोशी गाउँपालिकामा गोली चलाएको हो । विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको थियो । 

चैत ०५ गते मंगलवार । काठमाडौंबाट पाँच कार्यकता पाँच कार्यकर्ता पक्राउ परे । पक्राउ पर्ने पोलिटब्यूरो सदस्य मोहन कार्की हुन् ।  

प्रतिबन्ध लगाइसकेपछि हालसम्म देशभरीबाट  विप्लवका ९३ जना कार्यकर्ता पक्राउ परेका केन्द्रिय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले लोकपथलाई जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम (समय) यसअघि नै दिइसकेका छन् ।  
चैत मसान्तसम्म हिंसात्मक गतिविधि त्यागेको घोषणा नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिने चेतावनी दिएका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?