काठमाडौं । प्रेस काउन्सिल नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग जोडिएका अभिव्यक्ति लगायतका भिडियो हटाउन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले मेडिकल प्रसाईंसँग जोडिएका भिडियोसहित असान्दर्भिक, अफवाह फैलाउने तथा द्वन्द्व बढाउने सामग्री हटाउन विभिन्न मिडिया तथा युट्युब च्यानललाई निर्देशन दिएको हो।
‘राजनीतिक दल, समूह एवं सामाजिक अभियन्ता समूहबाट हुने भनिएको प्रदर्शनीको विषयलाई लिएर एकपक्षीय सामग्रीलाई प्रश्रय दिई प्रायोजित एवं एकोहोरो रूपमा जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषा शैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ’, काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ।
काउन्सिलले दर्ता सूचीकृत भएका सञ्चारमाध्यमलाई सामाजिक सञ्जालबाट त्यस्ता सामग्री सम्प्रेषण भएको अवस्थामा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पनि पत्राचार समेत गरेको छ।
यस्तै काउन्सिलले पछिल्लो समय कुनै पनि मिडियासँग आबद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरि युट्युब च्यानलबाट सम्प्रेषित सामग्रिको विशेष अनुगमन गरेको बताएको छ ।
विभिन्न किसिमका अफवाह फैलाउने, अवाञ्छित गतिविधिलाई प्रश्रय दिने,त्रासलाई प्रश्रय पुग्ने जस्ता सामग्री सम्प्रेषण हुनु प्रचलित कानून एवं पत्रकारिता आचारसंहिता विपरीत कार्य भएको काउन्सिलको ठहर छ। काउन्सिलका अनुसार पछिल्लो समय यस्ता सामग्री प्रकाशनरप्रसारण भएकोबारे कार्यालयमा गुनासो तथा उजुरी पर्ने गरेका छन्।
काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेको भन्दै युट्युब च्यानलरफेसबुक पेजहरू भृकुटी टिभी, डिम्पल म्यागेजिन, वीर गोर्खाली अनलाइन टिभी, एभरेस्ट नेपाल, एरो खबर र आवाजपाटी टिभीलाई त्यस्ता सामग्री हटाउन निर्देशन दिएको छ।
स्पष्टीकरण तथा निर्देशन दिइएका अन्य १२ युट्युब च्यानल र फेसबुक पेजहरू भने प्रेस काउन्सिलमा मिडियाअन्तर्गत सूचीकृत भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया