काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल भूकम्प पीडितका लागि अस्थायी घरटहरा बनाउन प्राविधिकको टोली बोकेर जाजरकोटतर्फ लागेका छन् ।
नेपाली कांग्रेसले भूकम्पबाट प्रभावित जाजरकोटमा १००० घरटहरा बनाउने अभियान अन्तर्गत सांसद पौडेललाई जिम्मेवारीसहित त्यसतर्फ खटाएको हो ।
टोलीले भोलिबाट काम सुरु गर्नेछ । सुरुमा जाजरकोटको नलगाड नगरपालिका वडा नं ४ र ५ बाट काम सुरु हुनेछ ।
नेपालगञ्जबाट इन्जिनियर, सिकर्मी डकर्मीसहित ४० जनाको टोली जाजरकोट तर्फ जाँदै गरेको सांसद पौडेलले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार इन्जिनियर, सिकर्मी डकर्मी र स्वयमसेवक गरी १५० जनाको हाराहारीमा रहेका व्यक्तिहरु १० जनाको दरले १५ वटा समूह बनाइनेछ । उक्त टोलीले ४ दिन त्यहाँ बसेर काम गर्नेछ भने उक्त टोलीले काम सकेपछि अर्को टोलीलाई कांग्रेसले खटाउने छ ।
आज कांग्रेसको पदाधिकारी बैठक बसी घर कसरी बनाउने र टोली कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।
बैठकले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । एउटा लीमा १० जनाका दरले स्वयमसेवक हुनेछन्। पौडेल नेतृत्वको टोलीमा नेता डिल्लीराम सुवेदी, सुशील भट्ट, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डागी लगायत छन् ।
यसअघि नै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जाजरकोटमा अस्थायी घरको नमुना निर्माण गरी फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया