४६औँ इफाप्का सम्मेलनको तयारी पूरा, सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौंमा यसै सातादेखि शुरु हुने एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६औं अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आयोजित पत्रकार सम्मेलन मार्फत् ४६ औं इफाप्काको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित यही मंसिर ५ गतेदेखि शुरु हुने सम्मलेन ९ गतेसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । त्यस्तै इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले जनाएको छ ।

सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहने महासंघ अध्यक्ष सिंहले जानकारी दिए । सम्मेलनमा सहभागी हुनका लागि विदेशी प्रतिनिधिहरू काठमाडौं आउने क्रम शुरु भइसकेको पनि उनले जानकारी दिए ।

हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६औँ इफाप्का सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ थियो । जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने उनले जानकारी दिए ।

सम्मेलनका कार्यक्रमहरू सार्वजनिक गर्दै अध्यक्ष सिंहले काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिने बताए ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूका लागि रजिष्ट्रेशन मिति : मंसिर ४,५ र ६ गते तोकिएको छ । ५ गते नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ आयोजना गरिनेछ ।

मंसिर ६ मा जनरल एसेम्बली सहित विभिन्न कमिटीहरूको बैठक आयोजना हुनेछ । यसै दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जाने र दोस्रो एक्जिक्यूटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिर्डस् कार्यक्रम आयोजना गरिने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

मंसिर ७ मै गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता गरिने र मंसिर ८ गते नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।

यसै सम्मेलन मार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हाली रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सिंहको कार्यकालमा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहनु भएका विरेन्द्र राज पाण्डेले महासचिव र कार्य समिति सदस्य सुशीलकुमार श्रेष्ठले बोर्ड मेम्बरको भूमिका निर्वाह गरेका थिए ।

४६औँ इफाप्का सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न इफाप्का तथा महासंघ अध्यक्ष रवि सिंहको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति र मूल आयोजक समिति मातहतका ९ वटा उपसमितिहरू गठन गरिएको महासंघले जनाएको छ ।

महासंघका सल्लाहकार एवं इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले मुलुकको प्रतिष्ठासँग जोडिएको ४६औँ इफाप्का सम्मेलनलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले ४६औँ सम्मेलनलाई सफल बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

महासंघका महासचिव रोशन दाहालले सदस्य राष्ट्रहरूबीचको सहकार्य तथा निर्माण कार्य सम्बन्धी अनुभव आदानप्रदानका लागि इफाप्का उपयुक्त मञ्च भएको बताए ।

महासंघका प्रवक्ता समेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले ४६ औं इफाप्का सम्मेलनबाट नेपालले धेरै लाभ लिन सक्ने भएकाले सम्मेलन सफल बनाउन सम्बन्धित् सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे ।

यसअघि नेपालले २४ वर्ष अघि सन् १९९९ मा अग्रज निर्माण व्यवसायी गणेश लाल श्रेष्ठ इफाप्का अध्यक्ष रहेको समयमा काठमाडौंमा ३०औँ इफाप्का सम्मेलन आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?