सिरहा । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ । निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले सिरहा जिल्लाको बजारमा रौनकता थपिएको छ ।
जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैयालगायत स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ ।
आर्थिक मन्दीले व्यपार बन्द भइरहेको बेला तिहार र छठ पर्वमा भइरहेको व्यापारले आशाको दियो बलेको लहानका व्यापारी रञ्जित साहले बताए । उनले जिल्लाका मुख्य बजार क्षेत्रका पसलहरु बन्द भइरहेको अवस्थामा दशैंभन्दा पनि तिहार र छठमा राम्रो व्यापार भइरहेको बताए । जिल्लाका व्यापारीलाई प्रोत्साहन दिनका लागि सीमा क्षेत्रमा हुने तस्करी रोक्नुपर्ने उनको भनाइ छ ।
श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीमा डोम समुदायले बनाएका ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्री किन्न बजारमा घुइँचो लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया