तिहारमा किन पुजिन्छन् काग, कुकुर, गाई र गोरु ?

लोकपथ
42
Shares

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ । मानव जाति प्राकृतिक पुजारी भएकाले प्रत्यक्ष सरोकार राख्ने जीवजन्तुहरुको पूजाआजा गरिन्छ । यसरी गरिएको पूजालाई जन्तुप्रति गरिएको सम्मानको रुपमा हेरिन्छ ।

यमलोकका राजा यमराजलाई भेट्नका लागि बहिनी यमूनाले समय मिलाउन आग्रह गरिन् । सोही बमोजिम कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन समय मिलाएर उत्सव मनाएको किम्बदन्ती छ । सोहीकारणले यी पाँच दिनलाई यमपञ्चक पनि भनिने गरिन्छ ।

यमराज बहिनीसँग उत्सव मनाउँदा उनका सहयोगी जीवजन्तुहरु पनि फुर्सदमा हुने गर्छन् । तर, पर्वमा पूजिने जनावरको आ–आफ्नै महत्व छ । आखिर किन पूजिन्छ तिहारमा जनावर ?

काग
काग सन्देश बाहक, तृक्ष्ण बुद्धिवाला चरा हो । यसलाई यमराज दूतको रुपमा लिइन्छ । यमलोक सन्देश बाहक पनि भनिन्छ । कागले शुभ र अशुभ सन्देश ल्याउने भनेर जनविश्वास रहेकाले पुजिने गरिन्छ ।

कुकुर
कुकुर मानव जीवसँग नजिकको सम्बन्ध राख्ने प्राणी हो । तालिम दिएपछि मानव जस्तै व्यवहार, शान्ति सुरक्षाको कार्यमा सहयोग गर्छ । त्यति मात्र नभएर बाहिरबाट आउने बैदीहरुबाट सतर्क गराउनुका साथै घरको श्रीसम्पतिको रक्षा गर्ने कार्य गर्दछ । वर्ष दिनमा एकपटक घरपालुवा जनावरलाई पुजिने संस्कारमा छ । यसका साथै कुकुरलाई यमराजको बाहकका रुपमा लिने भएकाले पनि तिहारमा पुजिन्छ ।

गाई
गाईलाई लक्ष्मीको प्रतिकको रुपमा लिइएको छ । जसलाई गौमाता पनि मानिन्छ । लक्ष्मीको पुजाआजा गरेमा घरमा श्रीसम्पती हुने, आर्थिक अभाव नहुने, धनकीदेवी प्रशन्न रहने जनविश्वास छ । लक्ष्मीको उपसना औंसीमा गरिने भएकाले धन अभाव नहोस् भन्नका लागि सरसफाई, उज्यालोका लागि दियो बालेर तिहारमा गाईको पूजा गरिन्छ ।

गोरू
पृथ्वीलाई हराभरा गराउने, अन्न उत्पादनमा सहयोग गर्ने गोरू नै हुन् । यी पशुले गरेको कार्यलाई अर्थात हामीले यिनीहरुले गरेको उपकारलाई सम्मान गर्नका लागि तिहारमा मिठो घाँस, नुन पिठो खुवाउँछौँ । प्रत्येक पर्वले कोही न कोहीसँग जोड्ने हुन्छ । जसमध्ये यो पर्व पनि गाईवस्तुसँग जोडिने भएकाले पूजिएको हो । हरेक दिन पशुलाई खाना खुवाए पनि यस दिन विशेष सम्मानका साथ खाना खुवाउने पहिलादेखि नै प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?