काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबीच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत र सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.रुपक महर्जनले सशस्त्र प्रहरी अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम बिस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।यो समझदारीपछि न्याम्सले निकट भविष्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम सशस्त्र अस्पतालमा पनि बिस्तार गर्ने छ ।
कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्च स्तरको दक्ष जनशक्ति आवश्यक पर्ने बताउदै न्याम्स र सशस्त्र प्रहरी अस्पतालबीच भएको समझदारीले स्वास्थ्य क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे ।
मन्त्री बस्नेतले शान्ति सुरक्षाका अलावा सशस्त्र प्रहरीले स्वास्थ्य उपचारका क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको भन्दै स्वास्थ्य मन्त्रालयले सशस्त्र प्रहरी अस्पताललाई सक्दो सहयोग जारी राख्ने आश्वासन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले न्याम्ससँगको शैक्षिक समझदारीले भविष्यमा सशस्त्र प्रहरी अस्पतालले मेडिकल कलेज स्थापना गर्ने ढोका खोल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया