काठमाडौं । मुगुको छायाँनाथ रारा गाउँपालिका–६ मन्दुमा चार जनाको सामूहिक हत्यामा संलग्न गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक ८ गते ठकुरी र बोहोराले मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरासहित उनको ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहरको हत्या गरेका थिए ।
लुटपाटको योजनासहित श्रीदेवीको घरमा प्रवेश गरेका उनीहरुले अन्ततः परिवारलाई नै सखाप पारेको प्रहरी अनुसन्धानबाट खुलेको हो । श्रीदेवीको रहस्यमय ढंगबाट हत्या भएपछि हत्याको ‘क्लु’ पत्ता लगाउन प्रहरीलाई हम्मे–हम्मे परेको थियो ।
भाई नाता पर्ने नै हत्यामा संलग्न
अन्ततः प्रहरीलाई सुरवाती चरणमा अनुसन्धानमा सघाएका गोपाल नै हत्यारा रहेको खुल्न आयो । गोपाल मृतक श्रीदेवीका ‘भाइ’ नाता पर्छन् । श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा लामो समयदेखि कतार बस्दै आएका थिए ।
उसो त उनले गाउँभरमै राम्रो आम्दानी गरेकोमा गोपाललाई डाह थियो । केही वर्ष अघि गोपाल पनि श्रीदेवीका श्रीमानकै पहलमा कतार २ वर्ष कतार बसेर फर्किएका थिए । गोपालले श्रीदेवीका श्रीमानलाई आफूलाई पनि उनी कार्यरत कम्पनीमा लैजानका लागि दबाब दिँदै आएका थिए । तर, गोपालको विगतको चरित्र राम्रो नभएकाले श्रीदेवीका श्रीमानले लगेनन् । यहीँबाट मौलाएको रिसिइबीका कारण अन्तत गोपालले गोर्खराजसँग मिलेर श्रीदेवीसहित उनका सन्तानको ज्यान लिए ।
पिना गाउँपालिका वडा नम्बर ७ घर भएका गोर्खराज हाल कोहलपुरमा बस्दै आएका छन् । उनले गत जेठ देखि नै श्रीदेवीका गरगहना र पैसा लुटपाट गर्ने योजना बनाएका थिए । सोही अनुसार उनी कात्तिक ५ गते पिना पुगेका थिए । उनी पिना पुगेर २ रात गोपालको गोठमा लुकेर बसेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लागेको छ । उनी पिना पुग्दा श्रीदेवी माइती गएकी थिइन् । ८ गते माइतीबाट फर्किएपछि श्रीदेवीसहित उनका तीन सन्तानको हत्या गरेका थिए ।
साथै, उनीहरुले श्रीदेवीको कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी र एक थान ओप्पो मोबाइल लुटेर भागेको प्रहरीले जनाएको छ । साथै, हत्याराले २ थान बैंकको चेक, ६ हजार रुपैयाँ नगद र लालपूर्जा पनि लुटेको अनुसन्धानबाट खुलेको छ ।
हत्या र लुटपाटपछि गोर्खराज राती नै ४ घण्टा हिँडेर जुम्ला पुगेका थिए । जुम्लाबाट गाडी चढेर उनी सर्खेत झरेका थिए । गोपाल भने गाउँमै बसे । रातभर हिँडेर जुम्ला पुगेका गोर्खराजले बाटोमा ‘जडीबुटी ब्यापार गर्छु’ भनेको स्थानीयहरूले प्रहरीलाई बताएका छन् । त्यो दिन गोर्खराज सुर्खेतस्थित दिदीको घरमा बसेका थिए । त्यसपछि नेपालगञ्ज गएर श्रीदेवीको गहना बेचेको तथ्य प्रहरीले पत्ता लगाएको छ । गोर्खराजलाई प्रहरीले कार्तिक २० गते सुर्खेतको पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो ।
यसरी खुल्यो रहस्य…
गोर्खराज भागेर नेपालगञ्ज पुगेपनि गोपाल भने गाउँमै थिए । उसो उनले सुरुमा प्रहरीलाई अनुसन्धानका लागि सहयोग गरे । हत्यारा पत्ता नलागेपछि प्रहरीले घटनाको अनुसन्धान मृतकको मोबाइलतर्फ केन्द्रीत गर्यो । त्यसपछि गोपालले गोर्खराजलाई फोन गरेर मोबाइल फाल्न भनेका थिए । त्यसपछि सुखर्देतमा बाँसको झ्याङमा गोर्खराजले मोबाइल फालेका थिए ।
त्यसपछि प्रहरीलाई हत्यारा पत्ता लगाउन सहज भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया