विराटनगर । चिसो बिहानी होस् वा साँझ तराईका चोकहरूमा मौलिक खान्की देखा पर्छ– भक्का । खासगरी राजवंशी समुदायका महिलाहरूले यो परिकार बनाएर बिक्री गरिरहेका हुन्छन् । अचेल अरू समुदायले पनि सिको गर्न थालेका छन् ।
सामान्यतयाः जाडो महिना लागेसँगै तराईका गाउँ, ठाउँ र सहरहरूमा पनि देखिने यो खाजालाई स्वास्थ्यबर्द्धक मानिन्छ । अचेल अरू मौसममा पनि कतैकतै देखिन थालेको छ । चिसो मौसममा तात्तातो भक्काको स्वादका पारखी चोकहरूतिर भक्का बनाएर बेच्ने स्थानमा झुम्मिरहेका हुन्छन् ।
चिसो मौसम सुरु हुनासाथ खाजाका रुपमा भक्काले आकर्षित गर्ने गरेको पारखी विराटनगर ४ की देवी गुरागाईँ बताउँछिन् । ‘चिसो मौसममा अचारसँग तात्तातो भक्का खानुको आनन्द विशेष छ’ उनले भनिन् ।
तराईका जिल्लाहरूमा यो लोकप्रिय खाजा हो । अचले भने यो मौलिक परिकार काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरूसम्म विस्तार भइसकेको छ ।
यतिमात्र होइन, संसारका विभिन्न मुलुकमा पुगेका नेपालीहरु, अझ तराईका बासिन्दाले आयोजना गर्ने उत्सव र कार्यक्रमहरुमा पनि यसले स्थान पाउन थालिसकेको छ ।
भक्का मूलतः राजवंशी समुदायको मौलिक सांस्कृतिक खानेकुरा हो । राजवंशीहरुले प्रत्येक वर्ष झापामा यसलाई ‘भक्का दिवस’ को रुपमा मनाएर अझ परिचित गराउने गरेका छन् ।
‘कोचिला गाभुर फन्ट’ को अग्रसरतामा यो दिवस २०७४ सालदेखि मनाउन थालिएको हो । दिवस मनाउने क्रममा झापाको बिर्तामोडमा राजवंशी कला संस्कृति झल्काउन समुदायका प्रतिनिधिहरू सांस्कृतिक पहिरनका साथ भेला हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया