मिस गुरुङ इन्टरनेशनलको ग्राण्ड फिनाले शुक्रबार हुँदै, विजेतालाई ५ लाख पुरस्कार

लोकपथ
434
Shares

काठमाडौं । मिस गुरुङ इन्टरनेशनलको पाँचौ संस्करणको ग्राण्ड फिनाले आगामी शुक्रबार अर्थात कात्तिक २४ गते हुने भएको छ । सन् २०१४ देखि मृगतृष्णा फाउण्डेशनले आयोजना गर्दै आएको मिस गुरुङ इन्टरनेशनलको फिनाले शुक्रबार राष्ट्रिय सभा गृहमा हुने भएको हो ।

गुरुङ समुदायको भाषा, संस्कृति, रीतिरिवाजको संरक्षण गरी नयाँ पुस्तालाई अवगत गराउँदै पुस्ता हस्तान्तरण गर्ने उद्धेश्यले सुरु गरिएको मिस गुरुङ इन्टरनेशनलको यो संस्करणमा १४ जना फाइनलिष्ट रहेको फाउण्डेशनकी अध्यक्ष एवम् फेसन डिजाइनर तृष्णा गुरुङ बताउँछिन् ।
मिस गुरुङ इन्टरनेशनलमा पोखरा, चितवन, गोरखा, बुटवल, इटहरी, काठमाडौं र भारतको सिक्किमबाट प्रतियोगीहरु सहभागि छन् । उनीहरु सबैलाई अडिसनमार्फत छनोट गरिएको गुरुङले जानकारी दिइन् । ‘अडिसनमार्फत सुरुमा २१ जना फाइनालिष्ट छनोट हुनुभएको थियो,’ लोकपथसँगको कुराकानीका क्रममा अध्यक्ष गुरुङले भनिन्, ‘७ जना व्यक्तिगत कारणले फाइनलमा सहभागि हुन सक्नुभएन ।’
गुरुङका अनुसार १६ देखि २६ वर्ष उमेरसमूहका अविवाहित र एसईई उत्तिर्ण गुरुङ चेलीले यो प्रतियोगितामा भाग लिएका छन् ।

शुक्रबार हुने फाइनलबाट मिस गुरुङ इन्टरनेशनलको उपाधि हात पार्नेले ५ लाख रुपैयाँ नगद र यमाहाको स्कुटर पुरस्कार जित्ने अध्यक्ष गुरुङले जानकारी दिइन् । यसैगरी, मिस गुरुङ इन्टरनेशनल फस्र्ट रनरअपले २ लाख, सेकेण्ड रनरअपले १ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् । त्यसैगरी, भोटिङमार्फत मिस गुरुङ पपुलर पनि घोषणा गरिनेछ । मिस पपुलरले भने ३ लाख रुपैयाँ पुरस्कार जित्ने अध्यक्ष गुरुङले जानकारी दिइन् । त्यस्तै, मिस ट्यालेन्ट भने २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

‘हन्ट फर द आइकन अफ गुरुङ सिभिलाइजेसन’ भन्ने नाराका साथ सम्पन्न हुन लागेको मिस इन्टरनेशनलको उपाधि चुम्नेले आगामी वर्ष अष्ट्रेलियाको द हेरिटेजमा हुने फेसन सोमा सहभागि हुने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?