भूकम्पले छोपिदियो तिहारको रौनक

लोकपथ
105
Shares

जाजरकोट । तिहारको प्रतीक्षामा रहेकी भेरी नगरपालिका–१ कोलचौरकी हस्ती कामीको उमङ्ग यसपालि बिनासकारी भूकम्पले खोसेर लगेको छ । विदेशमा रहेका छोराछोरी घर आउने र रमाइलो गरी तिहार मनाउने उनको सपना भूकम्पले क्षणभरकै समाप्त पारिदियो ।

जेठा छोरा उदय विक, कान्छो छोरा उत्तर विक र छोरी खिमी विकको प्रतीक्षामा रहेका हस्तीले भूकम्पमा आफ्नी एक बुहारी र ३ नाति, २ नातिनीसहित परिवारका ६ जना परिवारका सदस्य गुमाउनु पर्यो ।

परिवारका ६ जना सदस्य पुरिएको घरको छेउमा उभिएर हस्ती बलौना गरिरहेका छन् । ‘मैले एकैपटक मेरा ६ जना सन्तानको लाश आँगनीबाट विदाई गर्नु पर्यो’ आफ्नो भाग्यलाई दोष दिँदै उनी भन्छन् ।

दुबईवाट घर आएका उदय विक आँगनीमा भक्कानिइरहेका छन् । ‘ममात्र बाँचेर के गर्ने, चाडवाडको मुखमा यो विपत्ति पर्दा आफ्ना लागि तिहार पर्व सधैँका लागि निरस हुनेभयो अब ।’

सोही वडाका रावत गाउँकी उर्र्मिला रावतले तिहारका लागि गरिरहेको तयारी क्षणभरमै भूकम्पले उजाड बनाइदियो । उनको आफ्ना २ छोरा, २ छोरी र पाहुना लाग्न आएका दुई जनालाई गुमाउनु पर्यो । तिहारमा पकाउने रोटीका लागि पीठो पिस्न गएकाले उनकी बहिनी सन्तोकी रावत बाँच्न सफल भइन् । आफू बाँचे पनि सन्तोकीले आफ्ना २ नाबालक गुमाइन् ।

रावत गाउँकै हरिबहादुर रावत आफ्ना लागि तिहार सदाका लागि अन्त्य भएको दुखेसो गर्छन् । आमा र आफ्ना दाईलाई एकै चिहान बनाएको घरको भग्नावशेषमा उभिएर उनी भक्कानिछन् ।

भेरी नगरपालिका ३ थाप्लेमा तिहारको रौनक छाइसकेको थियो । अरुजस्तै तिहारका लागि आफ्नो तयारीमा लागेकी सुष्मा आरसीलाई भूकम्पले चाडवाड सधैं नरमाइलो हुनेगरी पीडा दियो। उनको प्रिय सन्तान चुँडेर लग्यो ।

भर्खरै पोखरा विश्वविद्यालयबाट इन्जिनियरिङ्ग पास गरेकी २१ वर्षीया छोरी मेरिना आरसीलाई उनले सदाका लागि गुमाइन् । ‘पर्वको मुुखमा यस्तो पीडा भोग्नुपर्यो’ उनी बिलौना गर्छिन्, ‘अब आफ्ना लागि चाडपर्व सबै निरस हुने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?