सभामुखसँग बेलायती राजदूतको शिष्टाचार भेट

लोकपथ
39
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदियौँ देखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनैतिक सम्बन्ध, आर्थिक तथा साँस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरे । सभामुखले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए । ‘आपसी सम्बन्धहरु हरेक दिन थप प्रगाढ हुँदै गएको प्रति म खुशी व्यक्त गर्दछु,’ सभामुखले भने, ‘नेपाल र बेलायत बीच लोकतन्त्र, संसदीय व्यवस्था, कानूनी शासन, मानव अधिकार साझा मूल्य–मान्यता रहेका छन् । यी विषयमा बेलायतको लामो र समृद्ध अभ्यास र इतिहास रहेको छ । नेपालको लागि बेलायती अभ्यास एवं अनुभव अनुकरणीय रहदैं आएको छ ।’

सभामुख घिमिरेले राजनैतिक स्थायित्वसँगै नेपालले विकास, समृद्धि र सुशासनको पथमा गति लिएको समेत बताए । ‘नेपाल सरकारको निकट भविष्यमा अति कम विकसित राज्यको सुचीबाट स्तरोन्नती भई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य रहेको छ । नेपालको यस विकास प्रयासमा बेलायतको निरन्तर सहयोगको आवश्यकता रहेको छ,’ सभामुखको भनाइ थियो ।

२०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उदार भावनाका साथ नेपाललाई सामग्री र भ्याक्सिन उपलव्ध गराएकोमा सभामुखले बेलायत सरकारप्रति आभार व्यक्त गरे । उनले संसदीय मैत्री समूहमार्फत दुई देशबीच संसदीय आदान प्रदानमा जोड दिए ।

बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीब्रता दिने विश्वास व्यक्त गरे । उनले बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?