पाटन अस्पतालमा इन्जेक्सन लगाएको ५ मिनेटमै २ बिरामीको मृत्यु

लोकपथ
1.5k
Shares

काठमाडौं । पाटन अस्पतालमा इन्जेक्सन लगाएको ५ मिनेटमै २ बिरामीको मृत्यु भएको छ ।

शनिबार ओखलढुंगाकी ८६ वर्षकी जनमाया राई र ललितपुरका ५८ वर्षीय कृष्णबहादुर नगरकोटीको निधन भएको थियो ।

निमोनियाका दुवै बिरामीलाई ड्यूटीमा रहेकी नर्सले नियमित लगाइने हेपारिन भन्ने मेडिसिन दिएकी थिइन् । इन्जेक्सन दिइएको ५–७ मिनेटमा दुवै बिरामीको मृत्यु भएको अस्पालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माले लोकपथलाई पुष्टि गरे ।

उनका अनुसार दुवै निमोनियाका बिरामी ५–७ दिनबाट अक्सिजनसहित अस्पतालमा उपचाररत रहेका थिए । दुवै बिरामीलाई दिइएको औषधि अन्य बिरामीलाई समेत दिइने गरेको र नेपालमा मात्र नभएर भारतमा समेत त्यसको प्रयोग व्यापक मात्रामा हुने गरेको उनले बताए । साथै उक्त औषधि परीक्षणका लागि प्रयोगशाला पठाइएको उनले बताए ।

‘त्यो घटना कोइन्सिडेन्ट जस्तो हो । दुवै निमोनियाका बिरामी ५–७ दिन देखि नै एन्टिबायोटिकसहित अक्सिजन लगाइरहेका थिए । त्यसअघि पनि त्यही औषधी चलेको थियो । अस्पतालमा भर्ना हुने बित्तिकै पहिले दिइने एन्टिबायोटिक त्यही हो ।’ डा. शर्माले लोकपथसँग भने, ‘तर पछि त्यहीले इन्फेक्सन गर्यो की भन्ने आशंका पनि छ । त्यसैको कारण हर्ट अट्याक भयो वा नशाबाट रगतको ढिक्काहरु जाम भएर बसेको कारणले हो या अन्य कारण थाहा परीक्षणपछि थाहा होला ।’

डा. शर्माका अनुसार सोही औषधिले शुुरुका दिनमा केही निको भएको र अक्सिजनसहित घर पठाउने समेत तयारी रहेको थियो ।

शनिबार घटना घटेपछि बिरामीका आफन्तहरुले ड्यूटीमा रहेका डाक्टरहरुमाथि हातपात गरेका छन् । जसको कारण अहिले पाटन अस्पतालका डाक्टरहरु हड्तालमा रहेका छन् । डाक्टरहरुमाथि हातपात गर्नेहरुलाई पक्राउ गर्न माग गर्दै डाक्टरहरुले आन्दोलन गरिरहेका छन् ।

त्यस्तै नेपाल चिकित्सक संघले पनि पाटनका डाक्टरहरुमाथि कुटपिट गर्नेहरुलाई पक्राउ गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?