प्राज्ञिकले भूकम्पबाट प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने

लोकपथ
56
Shares

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।

कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नाच्यूटको विनाशकारी भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीहरूलाई राहत स्वरूप पीडित परिवारलाई थोरै भए पनि मलम लगाउने हेतुले सहयोग गर्ने परिषद्ले जनाएको हो ।

विद्यार्थी परिषद्ले गत महिनामा बझाङमा गएको भूकम्पबाट प्रभावित भएका ११० घरपरिवारलाई पनि ११० थान न्यानो कम्बल वितरण गरेको थियो ।

साथै विद्यार्थी परिषद्ले २०७२ सालमा गएको विनाशकारी महाभूकम्पमा पनि विभिन्न संघ संगठनहरूसँग सहकार्यगरी अर्बौं रकम बराबरको खाद्यान्न, कपडा, टेन्ड, त्रिपाल, मेडिकल सामग्रीहरू, ३ लाख भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको थियो।

त्यस बखत विद्यार्थी परिषद्ले भूकम्प गएलगतै सयौं कार्यकर्ताहरूलाई उद्वार तथा राहत वितरण कार्यमा स्वयंसेवकको रूपमा ३ महिनासम्म परिचालन गरेको परिषद्ले जनाएको छ ।

अहिले पनि जाजरकोट र रूकुम पश्चिममा कर्णाली प्रदेशका कार्यकर्ताहरू सम्भब भएसम्म उद्वार र राहत कार्यमा परिचालन भइरहेको र छिटै तत्काल केही खाद्यान्न र अस्थायी बस्नका लागि आवश्यक सामग्रीहरू लिएर जाने तयारी भइरहेको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?