भूकम्प पीडितका लागि पहिलो चरणमा भारतले पठायो १० करोड बराबरको सामग्री

लोकपथ
56
Shares

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले जाजरकोट–रुकुम पश्चिम भूकम्पका पीडितहरुको राहतका लागि १० करोड बराबरको राहत सामग्री पठाएको छ ।

भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि हरसम्भव सहयोग गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार मानवीय सहायतास्वरुप पहिलोचरणमा भारु १० करोड बराबरको राहत सामग्री नेपालगञ्ज पठाएको हो ।

भारतीय वायुसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर नेपालगञ्ज पुगेको हो। यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीका मुख्यमन्त्री रामकुमार शर्माको उपस्थितिमा नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई हस्तान्तरण गरेका हुन्।

त्यस्तै आगामी दिनमा राहत सामग्रीका थप कार्यक्रमहरु नेपाल आइपुग्ने बताइएको छ।

घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको राजदूुत श्रीवास्तवले बताए ।

छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडी रहेको उनले बताए । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको पनि उनले बताए।

भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?