घरेलु मैदानमा साफ फुटबलको उपाधि जित्ने तयारीमा छौँ : प्रशिक्षक खड्का

काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले जारी साफ महिला च्याम्पियनसीपको उपाधि जित्न खेलाडीहरु तयार रहेको बताएका छन् । 

बुधवार विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेपछि खुशी हुँदै प्रशिक्षक खड्काले सो कुरा बताएका हुन् । 

‘आजको खेलको नजितापछि म निक्कै खुशी छु, पहिलो हाफमा भने जस्तो प्रर्दशन गर्न सकेको थिएन, तर, दोस्रो हाफमा हामीले खेलमा रणनीति परिवर्तन गर्दै खेल खेल्यौँ, त्यसैको अनुरुप हामीले खेलमा राम्रो नजिता निकाल्न सफल भयौँ ’, उनले लोकपथलाई बताए । 

साथै उनले फाइनल खेलमा अझ प्रर्दशनलाई निखार्दै खेल खेल्ने पनि बताए ।

‘हामी फाइनल खेल खेल्ने तयार छौँ, फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने हाम्रो लक्ष्य रहेको छ, हामीले पहिले समूहको विजेता बन्ने लक्ष्य लिएका थियौं, त्यस्तै सेमिफाइनलमा फाइनलसम्म पुग्ने लक्ष्य बनाएका थियौँ, त्यहि अनुसार प्रर्दशन गर्दै फाइनलमा समम आइपुगेका छौँ’, उनले थपे । 

प्रशिक्षक खड्काले अब घरेलु मैदानमा उपाधि जित्ने समेत बताए । ‘हामीहरु फाइनलका लागि तयारी अवस्थामा छौँ, अहिलेसम्म खेलाडीहरु पनि सबै फिट छन्’, उनले बताए । त्यस्तै कप्तान निरु थापाले घरेलु मैदानमा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रच्न तयारी अवस्थामा रहेको बताइन् ।

 अपराजित नेपालले जारी प्रतियोगितामा एक गोल पनि खाएको छैन । समूह चरणमा नेपालले भुटान र बंगलादेशलाई समान ३-३ गोलले पराजित गरेको थियो । 

‘साम्बा’ले पुरा गरिन पूर्व खेलाडी जुमनाको रेकर्डसँग बराबरी 

यसैबीच साबित्रा भण्डारी ‘साम्बा’ले पूर्व कप्तान जमुना गुरुङले बनाएको गोलको रेकर्डसँग बराबरी पनि गरेकी छिन् ।

उनले २६ अन्तर्राष्ट्रिय खेल खेल्दै २५ गोल गर्न सफल भएकी हुन् । अहिले साम्बा अनु लामाले बनाएको अर्को रेकर्ड पुरा गर्न मात्र १० गोलले पछि परेकी छिन् । लामाको नाममा ३५ अन्तर्राष्ट्रिय गोल गरेको रेकर्ड छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?