टुंगो लागेन कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार

लोकपथ
0
Shares

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारबारे अझै टुंगो लाग्न सकेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार छलफल भएको थियो । छलफल बिना निष्कर्ष सकियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको थियो ।

छलफलका क्रममा सरकारमा कुन कुन दललाई सहभागी गराउने भन्नेबारे कुराकानी भएको जनाइएको छ ।

एमालेका प्रमुख सचेतक भण्डारीका अनुसार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमध्ये तत्कालका लागि कुनै एक दलका प्रतिनिधिलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराइए आफू सरकारमा बस्न नसक्ने एमालेले बताउँदै आएको छ ।

छलफलमा सहभागी नेपाली कांग्रेसका सांसद शमशेर राईले गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिनेबारे छलफल भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने सर्वदलीय सहमतिको सरकार बनाउनु आवश्यक रहेको भन्दै त्यसका लागि सार्वजनिक अपिल गर्दै आएका छन् ।

कांग्रेसको शेखर कोइराला पक्षका कार्की गत असोज २७ गते मुख्यमन्त्री ब नेका थिए । मुख्यमन्त्री भएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । हाल मन्त्रिपरिषद्मा कार्कीबाहेक एकजना कांग्रेसका र अर्का एकजना एमालेका मन्त्री सहभागी छन् ।

मन्त्रिपरिषद्मा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा रहेका एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ८६ जना सांसदले कार्कीलाई विश्वासको मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?