काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘एन्जिला’ को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्म थलो इलामको आइतबारे बजारमा शुभमूहुर्त गरी छायाङ्कन सुरु भएको हो ।
इलाम झापा र काठमाडौं यस चलचित्रको छायाङ्कन हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।
चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको अनुभव बटुल्दै छिन् । उनीसँगै यसमा दयाहाङ राई मिरुना मगर सिर्जना सुब्बा पशुपति राई माओत्से गुरुङ बुद्धि तामाङ विजय बराल हरि खड्का लगायतको पनि अभिनय रहनेछ ।
एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा समावेश गरिने निर्देशक चाम्सले जानकारी दिए ।
सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःख भोगेको र इच्छा शक्ति भए असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।
निर्माता प्रेमकुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई चलचित्रमा देखाइने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए ।
श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई प्रोत्साहित गर्छ भन्ने लागेर चलचित्र बनाउन लागेको बताए ।
२०५३ मा पाँचथरको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर उनी २ वर्ष बेन्चमै सीमित भइन् ।
त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी हुन् । एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुलच्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एकमात्र खेलाडी हुन् ।
एन्जिला ओलम्पिक क्वालिफाइङ राउन्डमा दोस्रो राउन्डसम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसैगरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने हिरो गोल्ड कपमा भारतलाई जित्ने साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् ।
उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत इरान भुटान ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।
एन्जिला चर्चित क्लोथिङ ब्रान्ड ली–निङको नेपालको पहिलो र विश्वको पाचौँ ब्रान्ड एम्बासडर हुन् । साथै उनी गोर्खा वाच र हन्ड्रेड स्पोर्टसको पनि पहिलो ब्रान्ड एम्बासडर हुन् । नेपाली खेलाडीको नामअङ्कित गरी पहिलो पटक टी–शर्टघडी (गोर्खा) र चप्पल (म्याजिक) बनेका छन् जुन नाम एन्जिलाको नै हो ।
यस चलचित्रमा प्रदीप भारद्वाज र यम थापाको लेखन छ भने पटकथामा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । सुदीप बरालको डिओपी रहने यसका सम्पादक मिलन श्रेष्ठ हुन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बागादिया सह–निर्माता हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रकका रुपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया