मुगुको मन्दु गाउँमा एकै परिवारका ४ जनाको सामूहिक हत्या

लोकपथ
455
Shares

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका ४ जनाको सामूहिक हत्या भएको छ ।

मृत्युु हुनेमा एकै परिवारका आमासहित २ छोरा र एक छोरी रहेकी छिन् । मन्दुकी २६ वर्षीया श्रीदेवी बोहरासहित उनका २ छोराहरु मनोज र रहत बोहरासहित उनकी छोरी अप्सरा बोहरा रहेका छन् ।

घरमा ढोका लगाएको अवस्थामा घरभित्रै उनीहरुको शव फेला परेको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले लोकपथलाई जानकारी दिए । उनका अनुसार दशैँको बेला भएका कारण उनको घरमा ढोका लाग्दा पनि छिमेकीले माइत गएको अनुमान गरेका थिए । तर २ दिनसम्म पनि घर नफर्किएपछि माइतीमा बुझ्दा समेत नगएको भन्ने खुलेपछि छिमेकीले घरको ताला फुटाएर भित्र हेरेको उनले बताए । उनको श्रीमान वैदेशिक रोजगारीमा गएको र नेपालमा रहेका सबै परिवारको हत्या भएको उनले बताए ।

‘मृतकको श्रीमान विदेशमा हुनुहुन्छ । यता भएका सबै परिवारको सामूहिक हत्या भएको छ ।’ उनले भने, ‘दशैँको बेला भएका कारण माइत गएको भन्ने अनुमानमा छिमेकीले २ दिनसम्म कुनै चासो देखाएका थिएनन् । तर माइतीमा पनि नगएको पुष्टि भएपछि घरको ताल्चा फोरेर हेर्दा ४ जना नै मृत अवस्थामा फेला परेका हुन् ।’
छिमेकीले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । भामले दिएको जानकारी अनुसार मृतक आमाको घाटीमा घारिलो हतियार प्रहार गरिएको र अन्य बालबालिकाको भने घाँटी थिचेर हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

अहिले जिप्रका मुुगुका डिएसपी नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । साथै भोलि सबै अनुसन्धान गरेर शव उठाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?