पठाओको लोगो परिवर्तन, यस्तो छ कारण

लोकपथ
259
Shares

काठमाडौं । राइड सेयरिङ-हेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक गरेको छ ।

नयाँ लोगोमा नागवेली बाटो-सडक ’थिम’मा पठाओको पहिलो अङ्ग्रेजी अक्षर ’पि’ लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए । झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो ।

नेपालमा ५ बर्षमा ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरु प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् । केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको ’पठाओ पार्सल’ लाई देशब्यापी बनाउने र डिजिटल बालेट ’पठाओ पे’ समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ ।

लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन् । पठाओको नयाँ लोगो बिश्वब्यापी रुपमा अक्टोबर २५ देखि लागू भैसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?