काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताएका छन् । दुई तिहाईको बहुमत प्राप्त सरकारबाट स्थायित्व र विकास प्राप्त हुन्छ भन्ने जनअपेक्षा विपरीत देशमा कुशासन र अनियमितता व्याप्त रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘वाइडबडी, बुढी गण्डकी र मेलम्ची प्रकरणहरुले सरकार भ्रष्टाचारमा डुबेको प्रमाणित गर्दछ । सरकार भ्रष्टाचारबाट डुङडुङ गनाएको छ । पछिल्लो अवस्था हेर्दा, सरकारले केन्द्रको भ्रष्टाचार गाउँ गाउँ पुर्याएको छ,’ अध्यक्ष राणाले बताए ।
‘नेकपाकै सांसद सहभागी रहेको लेखा समितिले वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्यो । सरकारले अध्यक्षसहित अन्य दुई सदस्य रहने आयोग गठन गर्ने घोषणा गर्यो । तर, त्यो आयोगले जिम्मोवारी पत्र पाउदै पाएन । वाइडबडि, सुन प्रकरण जस्ता अनेक घटनाक्रमले सरकारले सुशासन नभएर कुशासन दिएको प्रष्ट गर्दछ । सरकालाई भ्रष्टाचार र कुशासनको पहिलो दर्जाको तक्मा लगाइदिए हुन्छ,’ अध्यक्ष लोहनीले भने ।
कांंग्रेस र कम्युनिष्टहरुले हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको राणाले बताए । नेपालको मौलिक पहिचान पूर्नस्थापना हुनुपर्दछ भन्दै राणाले भने, ‘हिन्दु राष्ट्रको पहिचान कायम गर्नलाई हामी आन्दोलन समेत गर्न तयार छौं ।’
सिके राउतसँग संहमति गरेर सरकारले के गर्न खोजेको प्रष्ट नभएको अध्यक्ष राणाले भने । ‘सहमति गरेको भोली पल्ट राउतले मधेस नेपालमा कहिले समावेश नभएको, सधैं अलग रहेका बताए । सरकारले यसबारे मौनता साँधेको छ, सरकारले धारणा प्रष्ट गर्नुपर्दछ ।’
‘सिके राउत सँगको संझौतामा सरकारले राष्ट्रिय एकता विपरीत गम्भीर लापरवाही गरेको छ,’ अध्यक्ष लोहनीले भने ।
राप्रपासँगको एकताको प्रश्नमा लोहनीले भने, ‘हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं । हामी राप्रपासँगको एकता स्वीकार गर्छौं यदि कमल थापाले हलो स्वीकार गर्छन् भने ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया