किरण केसीको दसैँको अनुभव : ‘…अनि बुबाले मलाई निलो लुुगा किनिदिनुहुन्थ्यो’ (भिडियोसहित)

लोकपथ
126
Shares

बच्चा बेलाको दसैँ रमाइलो हुन्थ्यो । बच्चालाई केही कुराको टेन्सन नै हुँदैनथ्यो । सबै कुरा बाबा आमाले पूरा गरिदिनुहुन्छ । बाबा आमाले नयाँ लुगा किन्दिन्छन् । माछा, मासु सबै बाबा आमाले नै प्रबन्ध गरिदिन्छन् । छोराछोरी भेजिटेरिन छन् भने खीर मसला किन्दिनु हुन्छ, मिठाईहरु सबै बाबाआमाले नै किन्दिनुहुन्छ ।

म बच्चामा एकदमै चनचके थिएँ, त्यसैले मलाई बाबाले निलो लुगा किन्दिनु हुन्थ्यो । त्यो कपडा सुचिकारकोमा गएर सिलाउन छोडेको दिन ८० प्रतिशत भन्दा बढी खुसि भइसकेको हुन्थ्यो । दसैँ आउनुभन्दा दुई महिना अगाडी नै खसी लेराएर घरमा राखिन्थ्यो ।

अनि त्यो खसी चराउन म जान्थेँ । त्यो खसी हेरेको भनेर खसिको कान मलाई चाहिन्छ भन्थेँ । त्यो वातावरण नै रमाइलोकोे हुन्थ्यो । रुखमा पिङ हालेर खेलिन्थ्यो । सार्वजनिक ठाउँ मा पिङ हालेर पिङ खेलिन्थ्यो वर्षमा एक फेर भुइ छोड्नु पर्छ भन्ने किंबदन्तीलाई मध्यनजर गरेर भुईँ छोडिन्थ्यो ।

पहिले र अहिलेको अनुपातमा दसैँको धेरै फरक छ । अहिले घरको हरेक जिम्मेवारी आफैँले जिम्मा लिनु पर्ने हुन्छ । पहिला र अहिलेको तुलनामा आकाश जमिनको फरक छ । दसैँ आयो भनेर एक महिना अगाडीबाट नै मनमा उमंग छाउन्थ्यो । दसैँ आयो मासु खान पाउने भयो, नयाँ लुगा लगाउन पाउनेभयो भनेर धेरै खुसी लाग्थ्यो । दसैँमा दाईको ससुरालीमा जान्थेँ, त्यो सबै कुराले रमाइलो लाग्थ्यो । जे होस् बच्चा बेलामा जस्तो रमाइलो अहिले हुँदैन । त्यो मालश्रीको धुन सुनेर खुसीले मन गदगद हुन्थ्यो । भदौको चिसो मौसम र मालश्रीको धुनले दसैँ आएको महसुस हुन्थ्यो ।
आमा बुबा हुँदाको दसैँ, दाइभाइसँगै हुँदाको दसैँले अर्कैँ अनुभव हुन्थ्यो । त्यो बेलाको दसैँ सम्झनलायकको दसैँ थियो । अर्को बिहे भए पछिको दसैँ अविस्करणीय थियो । बिहे गरेको पहिलो वर्ष आमा बाबाको हात बाटटिला लगाउन पाएको ज्वाँई भएर ससुरालीमा गएर टिका लगाएको खाने कुराहरु पनि धेरै परिकारको देखेर मन खुसी हुन्थ्यो ।

चाडपर्वले भाइचारा निम्त्याउने गर्दछ । बोलचाल नभएको दाइभाइ अनि माइत नआएको दिदिबहिनीलाई एकै ठाउँमा ल्याउँछ अनि एकजुट बनाउँछ । कहिले ६ महिनामा भेट नभएको फुपुु पनि भेट हुन्छ । वर्षौँदेखि भेट नभएको मामाको छोरा पनि भेट हुन्छ । यसले सबैलाई एकै ठाउँमा ल्याउँछ ।

नेपाल भन्दा बाहिर बसेर दसैँ मनाएको पनि धेरै अनुभव रहेको छ । अमेरिकाको टेक्सासमा हेम पाठक दाईको घरमा म, मदनदाई हरिदाई, शिवहरी पौडेल, मोहितवंश आचार्य, यमन श्रेष्ठ, बसुन्धरा भुसाल लगायत हामीले आफ्नो परिवार बाहेक दसैँ मनाएका छौँ । अष्ट्रेलियामा सुरेन्द्र श्रेष्ठको घरमा मनाएका छौँ । कतिवटा दसैँ मेरो छोरोसँग अमेरिका बोस्टनमा मनाएको छु । आफ्नो मातृभुमीबाट बाहिर मनाएका दसैँका क्षणहरु पनि धेरै छन् । त्यो चाँही फुल प्याकेज नभएको मनाइस् भन्दा मनाएँ भन्ने जस्तो गरि मनाइयो । म यो मानेमा लक्की छु, खसी किन्न दसैँ भएन, लुगा किन्न पैसा भएन भनेर दुख मेरो भागमा परेन । सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई वडा दसैँको शुभकामना भन्नु चाहान्छु ।

(लोकपथका लागि महेश तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?