दशैँमा घुमघामको गन्तव्यः इलाम

लोकपथ
91
Shares

काठमाडौं । सबैभन्दा लामो बिदा हुने नेपालीहरुको मुख्य पर्व हो दशैँ। यस अवसरमा सरकारी तथा गैरसरकारी कार्यालय र संस्थाहरुले अरु बेलाभन्दा लामो विदा दिने गर्छन् ।

दशैँका बेला टाढा टाढाबाट भेला भएर परिवारसँग रमाउने चलन छ । यसै अवसरमा भेला भएर विभिन्न गन्तव्यहरुको भ्रमण गर्ने चलन पनि अचेल बढेको छ ।

पूर्वमा घुम्नका लागि धेरै आकर्षक स्थानहरु छन् । पर्यटकीय, धार्मिक स्थलहरुले भरिपूर्ण पूर्वमा भ्रमणका लागि पुग्नैपर्ने ठाउँमध्येको हो इलाम ।

उन्नत कृषि कर्म, विभिन्न जाति, जनजातिहरुको मिस्रित बसोबास, भारतको दार्जिलिङसँगको सीमावर्ती इलाममा धेरै पर्यटकीय स्थलहरु छन् ।

सबैभन्दा उचाइमा रहेको सन्दकपुर हिमशृंखला र सूर्योदयका साथै पहाडी र तराईका फाँटहरु अवलोकन गर्ने उत्कृष्ट गन्तव्य मानिन्छ ।

इलामकै श्रीअन्तु, कालपोखरी, माइपोखरी, इलाम र कन्याम चिया बगान, सिद्धिथुम्का, पाथिभरा, गजुरमुखी, माइस्थान, सेतीदेवी जस्ता थुप्रै धार्मिक एवं पर्यटकीय स्थलहरु घुम्नका लागि प्रसिद्ध स्थान हुन् ।

चियाको उद्गम थलो मानिने इलाम दूध, अलैँची, अम्रिसो, अदुवाजस्ता नगदे बालीका लागि पनि प्रसिद्ध जिल्ला हो ।

सूर्योदय अवलोकन गर्न आकर्षक मानिने अन्तु डाँडामा पछिल्लो समय आन्तरिक एवं वाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

त्यहाँ होम स्टे (घरबास) को सुविधा छ भने अचेल थुप्रै होटल र रिसोर्टहरु पनि खुलेका छन् ।

यो दशैँको बिदामा घुम्न जाने योजना बनाएकाहरुले इलामलाई गन्तव्य बनाउन सक्छन् । पूर्वपश्चिम राजमार्गको झापा, चारआलीबाट उत्तर लाग्ने मेची राजमार्ग हुँदै इलाम जान सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?