काठमाडौं । नवरात्रको आठौँ दिन आज नवदुर्गा मध्येकी आठौंदिन महागौरीको उपासना गरिन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा हुने गर्छ ।
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।
महादेवको प्रिय रहेकी महागौरीको स्वरूप अनुपम रहेको छ । महागौरी स्वरूप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरै रहेको छ ।
महागौरीको पूजा आराधनाले मनुष्यमा रहेको अनेक दोषहरू हट्ने पूर्व जन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन काल रात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गरिन्छ ।
आज राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ । पशु बली नदिनेले पनि नरिवल, कुभिन्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन् । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
आजै हनुमान ढोकाको दसैंघरमा रहेको मूल चोकमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया