आज घरघरमा फूलपाती भित्र्याईँदै

लोकपथ
91
Shares

काठमाडौं । आज बडा दसैँको छैटौँ तर तिथि अनुसार सातौँ दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मान वृक्ष भित्र्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात् सहायकको रूपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मान वृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

हनुमान ढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमान ढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने सँस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । फूलपातीसँगै दसैँ पूर्णरुपमा सुरु हुन्छ । फूलपातीका दिनदेखि सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी सङ्घसंस्थाहरू बिदा हुने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?