किसानलाई वस्तुभाउ पाल्न गुल्मीको इस्मामा अनुदान

लोकपथ
28
Shares

गुल्मी। पछिल्लो समय धेरै किसानले पशुपालनतर्फ रुचि कम देखाएपछि गुल्मीको इस्मा गाउँपालिकाले उनीहरुलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।

पालिकाले प्रोत्साहनस्वरुप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेको हो । किसानलाई कृषि र पशु पालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

“यसरी व्यावसायिक रूपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मेहनत देखेर निकै खुसी लागेको छ”, उनले भनिन्, “यसले ईस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ ।”

पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताए । पालिकाले गत आवमा छ फार्मलाई अनुदान उपलब्ध गराएको थियो ।

पालिकाभित्र पाँचभन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिकरुपमा १० हजार अनुदान उपलब्ध गराउने निर्णय भएअनुसार अनुदान रकम वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनाएका छन् ।

उनका अनुसार पालिकाले चालु आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक १० हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ । उक्त फार्मले पाँचभन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताए ।

उनका अनुसार अनुदान पाउनेमध्ये वडा नं ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नं–१ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नं।६ को घिमिरे कृषि तथा पशुपन्क्षी फार्ममा नौ र वडा नं २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?