पूर्व मुख्यमन्त्री राईले भने– ‘प्रदेशको आत्मा मरेको छ, मध्यावधिबाट पुनर्जिवित गर्नुपर्छ’

लोकपथ
169
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश सभा मध्यावधिको बाटोमा गएर फ्रेस म्याण्डेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।

आज बसेको कोशी प्रदेश सभाका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभाको बैठकमा बोल्दै राईले सो कुरा बताएका हुन् । राजनीतिक खिचातानीका कारण प्रदेश सभाको मर्म र आत्मा कोमामा पुगेको बताउँदै प्रदेशसभालाई फ्रेस म्याण्डेटमा लगेर पुनर्जिवित गर्नुपर्ने जिकिर गरे । त्यस्तै उनले पटकपटक राजनीतिक दलले कोशीमा संविधान र कानुन उल्लंघन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

‘साच्चै भन्ने हो भने प्रदेश सभाको मर्म आत्मा कोमामा पुगिसकेको छ । एक हिसावले प्रदेश सभा मध्यावधिमा लगेर फ्रेस म्याण्डेटबाट पुनजिर्वित गर्नुपर्ने देखिन्छ । त्यो कसरी भने हामीले हाकाहाकी संविधान, कानुनका पानाहरुलाई उल्लंघन गरेका छौँ ।’ उनले भने ।

त्यस्तै संविधानमा संसद वा प्रदेश सभा भन्दा बाहिरबाट बजेट ल्याउन नपाइने भए पनि पटकपटक संसद छलेर बजेट ल्याइ विधिको शासनमा ठेस पुर्याएको बताए ।

‘बजेट प्रदेश सभा संसद सदन भन्दा बाहिरबाट ल्याउन पाइदैन भनेर भन्ने कुरा बढो सफासँग राजनीति नगर्ने र थोरै पढे लेखेको मान्छेले पनि बुझ्ने भाषामा लेखेको छ । तर हामीले पटक पटक संसद छलेर प्रदेश सभा छलेर बाहिरबाट ल्याइसकेका छौँ ।’ उनले भने ।

त्यसैगरी उनले प्रदेशको नामाकरणको विषयमा समेत कानुन उल्लंघन गरिएको दाबी गरे । साथै यसअघि ४७ सांसदको समर्थनमा बनेको मुख्यमन्त्रीलाई ढाल्नका लागि जाने र फेरि त्यही लिएर मुख्यमन्त्री दाबी गर्ने प्रवृत्तिले प्रदेशमा बेमेलको स्थिती सिर्जना भएको बताए ।

मुख्यमभन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् । गत शनिबार कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?