कोशी प्रदेश : एमालेबाट कोको हुँदैछन् सरकारमा सहभागि ?

लोकपथ
1.1k
Shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथग्रहण गर्दैछन् ।

शनिबार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज शपथग्रहणसँगै सानो आकारको मन्त्रीमण्डल बनाउन लागेका हुन् ।

कांग्रेससँग विद्रोह गरेका कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यहरुले सहयोग गरेका छन् । आज गठन हुने मन्त्रिमण्डलमा एमालेका प्रदेश सभा सदस्यहरु पनि सहभागि हुनेछन् । त्यसबारेमा आन्तरिक छलफल भइरहेको निवर्तमान मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले लोकपथलाई जानकारी दिए ।

मुख्यमन्त्री काठमाडौं रहेका कारण उनी फर्किएपछि थप छलफल हुने बताए । साथै अहिले एमालेबाट संसदीय दलका उपनेता रामकुमार रानामगर र प्रदेश सभा सदस्य तिलकुमार मेनाङ्गोलाई अघि बढाउने तयारी रहेको उनले बताए ।

‘हामीले समर्थन गरेर प्रदेशको स्थायित्वका लागि कोशी सरकार गठन भएको छ । आज मुख्यमन्त्री ज्यूले विश्वासको मत लिने कार्यसूची रहेको छ । आजै सानो मन्त्रिमण्डल बनाउने तयारी रहेको बुझेको छु ।’ उनले भने, ‘संसदीय दलका उपनेता रानामगर र प्रदेश सभा सदस्य तिलकुमार मेनाङ्गोलाई अघि बढाउने तयारी रहेको छ । तर त्यसको अन्तिम टुंगो लगाउने बाँकी रहेको छ ।’

शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेसँगै कार्की काठमाडौं आएका थिए । कांग्रेस नेता डा. शेखर कोइरालालाई भेटेसँगै अन्य नेताहरुलाई समेत भेटघाट गरेका छन् । आजै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् ।

आज २ बजेका लागि शपथग्रहणको कार्यसूची तय गरिएको छ । यता कांग्रेसबाट पनि एक जनालाई सरकारमा सामेल गराउने तयारी भइरहेको कांग्रेस निकट स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?