काठमाडौं । ३ महिनाभित्र २ हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनाङ एअरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ ।
शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको हो।
प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ ।
छोटो समयको अवधिमा उक्त एअरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको प्राधिकरणका प्रवक्ता तथा उप–महानिर्देशक जगन्नाथ निरौलाले बताए ।
मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७:१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए ।उक्त दुर्घटनामा परी घाइते भएका सेँडाइको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन । मनाङ एयरले अर्को हेलिकप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न नपाउने र मनाङ एयरको समग्र चेकजाँच गरेपछि मात्र उडान सुरु गर्न दिने वा नदिने निर्णय हुने सूचना अधिकारी भुलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया